राष्ट्रपतिमा रामचन्द्रजीको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रचण्ड

'ओलीले प्रतिनिधिसभा विघटन ठिक छ भनेपछि नयाँ गठबन्धन बन्यो'

हिमाल प्रेस १८ फागुन २०७९ १७:२०
6
SHARES
राष्ट्रपतिमा रामचन्द्रजीको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रचण्ड तस्बिर- रासस

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पदमा रामचन्द्र पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको बतएका छन्।

बिहीबार राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई प्रशिक्षण-अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको उनको भनाइ छ।

गत पुस २६ को प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन ठिक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको प्रचण्डले बताए।

‘राष्ट्रपतिमा रामचन्द्रजीको उम्मेदवारीले राष्ट्रिय सहमतिको सन्देश दिएको छ। उनले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ,’ उनले भने, ‘नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ। हामी अहिले पनि राजनीतिक संकट र चुनौतीकै बीचमा छौँ।’

राष्ट्रपति पदका उम्मेदवार पौडेललाई आठ दलको मात्र होइन १० दलको समर्थन रहेको बताउँदै उनले स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको स्पष्ट पारे।

‘अघिल्लो पटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद् पुनःसस्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको उल्लेख गरे।

‘पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाइ अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो। बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ। तपाईं र म मिलेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ। तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ,’ उनले भने।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। आठदलीय गठबन्धनका उम्मेदवार पौडेलका विपक्षमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन्।

प्रकाशित: १८ फागुन २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =