पोखरामा अब रात्रिकालीन उडान

हिमाल प्रेस १८ फागुन २०७९ ९:५९
16
SHARES
पोखरामा अब रात्रिकालीन उडान

पोखरा- व्यावसायिक उडान थालेको ठीक दुई महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान गरिएको छ।

बुधबार राति काठमाडौँदेखि सौर्य एयरलायन्सको ९ एन–एएमई जेट इन्जिन जहाज उडेर पोखरा विमानस्थलमा सफल अवतरण भयो। विमानमा चालक दलका सदस्य सहित ३३ यात्रु थिए।

राति ८ बजेर ४५ मिनेटमा यहाँ अतवरण भएको सो जहाज सवा ९ बजे नै काठमाडौँ फर्किएको विमानस्थल प्रमुख विक्रमराज गौतमले जानकारी दिए। फर्किंदा विमानमा ४६ यात्रु थिए ।

गत साता विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू गरिएको थियो, जसबाट रातिमा पनि उडान भर्न सकिन्थ्यो। निजी क्षेत्रको बुध्द एयरले आगामी २५ फागुनदेखि रात्रिकालीन उडान भर्ने तयारी गरिरहँदा निजी क्षेत्रकै अर्को विमान कम्पनी सौर्यले सफल उडान गरेको हो।

गत १७ पुस (१ जनवरी) मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। यसलाई नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिए पनि हालसम्म आन्तरिक उडानमै सीमित छ।

भारतले रुट परमिट नदिँदा हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी बताउँछन्। सरकारले यसको लागि कूटनीतिक पहल थालेको पर्यटनमन्त्रीले दुई साताअघि यहाँ आउँदा बताएका थिए।

अन्तर्राष्ट्रिय उडान तयारी भइरहँदा रात्रिकालीन उडानले भने पोखराको समग्र पर्यटनमा केही टेवा दिने भन्दै पर्यटन व्यवसायीहरु खुसी छन्। फ्लाइट प्रमाणित गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले चोकजाँच गरेर रात्रिकालीन उडानको लागि यहाँ अनुमति दिएको थियो।

यसैबीच यहाँबाट बुध्द एयरले आगामी ९ मार्चदेखि पोखरा-भद्रपुरसम्म सीधा हवाई उडान तयारी गरेको छ।

प्रकाशित: १८ फागुन २०७९ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =