सुशासन प्रवर्द्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

हिमाल प्रेस १८ फागुन २०७९ ९:२७
4
SHARES
सुशासन प्रवर्द्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

धनुषा- जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ।

नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवर्द्धन गर्ने नीतिअनुसार प्रविधि सुधारको पहल भइरहेको उपमहानर प्रमुख मनोजकुमार साहले जानकारी दिए।

उनले अहिले नगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई प्रविधियुक्त र नागरिकलाई सूचना प्रविधिमार्फत सेवाप्रवाहका लागि आवश्यक प्रविधिको व्यवस्थापन गर्न पहल भइरहेको बताए। ‘हामीले सुरुमा उपमहानगरभित्र नै प्रविधिको प्रयोगबाट कसरी छिटो र पारदर्शी ढंगले काम गर्न सकिन्छ भनेर इ–हाजिरी र सेवाग्राहीले अनलाइनमै आफ्नो विवरण पेस गर्ने गरी काम सुरु गरेका छौँ’, उपमहानगर प्रमुख साहले भने, ‘अब बिस्तारै नागरिकले कर तिर्न पनि लाइन बस्नुपर्ने परम्परागत शैलीलाई प्रतिस्थापन गर्न डिजिटल सूचना प्रणालीको विकास गर्दैछौँ । त्यसमा उपमहानगरपालिका लागिरहेको छ।’

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले कर्मचारीलाई समयमै कार्यालय आउने र काम सकेपछि मात्रै जाने गरी अनुशासित बनाउन प्रविधिको प्रयोग इ–हाजिरीबाट सुरु गरिरएको र अब नागरिकलाई लक्षित गरी प्रविधि प्रयोगमा जोड्न दिइने बताए।

उनले गत भदौपछि इ–हाजिरी सुरु गरेको र सेवाग्राहीलाई लक्षित गरी ‘सेमी’ अनलाइन सेवा पनि सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘सकेसम्म हाम्रा सबै सेवा डिजिटलाइज्ड गर्ने गरी अगाडि बढेका छौँ। आर्थिक कारोबारको नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिका लागि महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोगमा ल्याइसकेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत शशीले भने, ‘राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) को प्रयोगका लागि महालेखालाई पत्र लेखिसकेका छौँ, त्यो कार्यान्वयनमा आए हामी मधेसमै पहिलो स्थानीय निकाय हुनेछौँ।’

जनकपुरधाम उपमहानरपालिका चेकबाट रकम हस्तान्तरणलाई निस्तेज गरी विद्युतीय कोष हस्तान्तरण प्रणालीको प्रयोगमार्फत कारोबार गर्ने धनुषा जिल्लाकै पहिलो स्थानीय निकाय हो।

प्रमुख प्रशासकीय अधिकृत शशीले उपमहानगरपालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन मोबाइल एपको विकास गर्ने योजना रहेको र योजना, लागत, कार्यान्वयन हुने क्षेत्र तथा प्रगति विवरणसमेत थाहा पाउने गरी अनलाइन प्रणाली विकास गरिने पनि बताए।

‘सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउन पहल गरिएको छ, डिजिटल सहर बनाउने क्रममा अब करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायतका राजस्व जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाउने योजना छ । छिट्टै यसको कार्यान्वयन हुने गरी काम गर्छौं’, शशीले भने।

त्यसैगरी वडा कार्यालय र नगर क्षेत्रमा रहेका वडा स्वास्थ्यचौकीलाई एकै ठाउँबाट अनुगमन गर्न मिल्ने गरी अनलाइन प्रणालीको विकास गर्ने योजना रहेको र अहिले सामाजिक सुरक्षा पञ्जीकरण कार्यका लागि २५ वटै वडामा कम्प्युटर अपरेटर नियुक्त गरी काम अगाडि बढेको उपमहानगरपालिकाले जनाएको छ।

‘उपमहानगरपालिका र यसअन्तर्गतका २५ वटै वडालाई अनलाइन प्रणालीमा जोड्ने काम हुँदैछ । डिजिटल नक्सा र यहाँका घरहरुको अनलाइन ‘कोडिङ’को काम पनि हुन्छ। यसले सेवा प्रवाहमा थप सहजता ल्याउने छ’, शशीले अगाडि भने। सामाजिक सुरक्षा पञ्जीकरण कार्यलाई सहज बनाउन हाल ३५ जना कम्प्युटर अपरेटर नियुक्त भई आवश्यक कार्य सुरु गरिसकेको पनि शशीले जनाकारी दिए।

जनकपुर धार्मिक नगरी पनि भएकाले सुरक्षा व्यवस्थापनका लागि नगर क्षेत्रमा रहेका सीसीटिभीबाट एकै ठाउँबाट अनुगमन गर्ने गरी एकीकृत सञ्जाल निर्माणको काम पनि सुरु गर्न थालिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रभरि हाल प्रदेश सरकार र अन्य निकायले करिब ५० वटा सिसीटिभी जडान गरेकोमा अब नगरपालिकाले पनि मुख्य तथा अत्यावश्यक ठाउँमा थप गरी त्यसलाई एउटै सञ्जालमा जोडेर अनुगमन गर्दा सुरक्षाका दृष्टिले सहजता प्रदान गर्ने अपेक्षा छ।

प्रकाशित: १८ फागुन २०७९ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =