प्रदेश १ को नाम ‘कोसी’ पारित

विवेक विवश रेग्मी १७ फागुन २०७९ २१:५३
28
SHARES
प्रदेश १ को नाम ‘कोसी’ पारित फाइल तस्बिर-हिमाल प्रेस

इटहरी– प्रदेश १ को नाम कोसी पारित भएको छ। यो नामको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् भने विपक्षमा ४ मत खसेको छ।

प्रदेश १ को राजधानी विराटनगर तोकिएको झण्डै ४ वर्षपछि प्रदेशको नामकरण जुरेको हो।

प्रदेश १ को नाम ‘कोसी’ बहुमतले पारित भएको छ। बुधबार प्रदेश १ को प्रदेशसभामा पेस भएको नामकरणमा ‘कोसी’ प्रदेश राख्ने बहुमतले पारित भएको हो।

नेकपा एमालेका रामबहादुर राना मगरले प्रस्ताव गरेको ‘कोसी’ मा एमाले सांसदद्वय विदुर लिंथेप र नेकपा एमालेका नीरन राईले समर्थन गरेका थिए ।

प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव पारित गरेसँगै अब ‘कोसी’ प्रदेश रहने भएको छ।

बुधबार (आज) साँझ भएको मत विभाजनमा पक्षमा कोसीको ८२ मत परेको थियो। यस्तै, विपक्षमा ४ मत परेको थियो भने ६ जना सांसद अनुपस्थित रहे।

सभामुख बाबुराम गौतमले ‘कोसी’ नाममा बहुमत भएकाले प्रदेश १ को नाम ‘कोसी’ रहने घोषणा गरे।

प्रदेशको राजधानी यसअघि विराटनगर तोकिएको छ। २३ वैशाख २०७६ मा प्रदेशको राजधानी विराटनगर तोकिएको थियो।

दुई तिहाइ भन्दा बढी सदस्यहरूले ‘कोसी’ नामको पक्षमा हात उठाएपछि नामकरणको प्रक्रिया अगाडि बढाइएको थियो।

‘कोसी’ प्रदेशमा बहुमत भएपनि असन्तुष्ट बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले भने ‘किराँत-लिम्बूवान-सगरमाथा’ हुनुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता गरेको थियो।

निवर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईले पेस गरेको प्रस्तावमा जसपाकी निर्मला लिम्बू र नेकपा एसकै कमलप्रसाद जुवेगुले समर्थन जनाएका थिए।
प्रदेशसभा बैठकमा ‘कोसी’ प्रदेशमा मात्रै छलफल भएको थियो। यसअघि नेकपा एसले प्रस्ताव गरेको ‘किराँत-लिम्बूवान-सगरमाथा’ प्रदेश नाम अस्वीकृत गरेपछि ‘कोसी’ मा मात्रै छलफल भएको थियो।

छलफलमा नेपाली कांग्रेसले सबैको भावना समेटिने भएकाले उक्त नाममा समर्थन गरेको जनाएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले सभामा बोल्दै कोसी नाम सबैको सर्वस्वीकार्य हुने बताए।

‘प्रदेशको नाम कोसी राख्दा सबै प्रदेशबासीको भावना समेटिने भएकाले हामीले समर्थन गरेका हौँ,’ उनले भने।

छलफलमा बोल्दै नेकपा माओबादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदको ठूलो संख्याले कोसी नाम स्वीकार गरेकाले आफूहरूको समर्थन रहेको जनाए।

‘संसदको ठूलो संख्याले स्वीकार गरेको नाममा हाम्रो समर्थन रहन्छ,’ उनले भने, ‘फेरि चुनावमा प्रदेशका जनताले हामीलाई दुई तिहाइ बहुमत दिए पहिचानको आधारमा नाम राख्छौं।’ यसअघि पहिचानको आधारमा नाम राख्नुपर्ने अडान पार्टीको भएपनि अहिलेका जनादेशको पहिचानको पक्षमा नामकरण गर्न असमर्थ रहेको उनको भनाइ छ।

यस्तै, निवर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले जनतासँग गरेको प्रतिबद्वतामा दलहरू इमानदार नभएको तर्क गरे। उनले भने, ‘जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर मत माग्ने, आन्दोलनका लागि मर्न लगाउने प्रदेशको नाम माग्दा कन्जुस्याइँ गर्दा नेताहरू इमानदार भएनन्।’ उनले किराँत-लिम्बूवान कुनै जात नभइ सभ्यता रहेको बताए।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बर बहादुर बिष्टले प्रदेशको नाम ‘कोसी’ मा आफूहरूको समर्थन रहेको बताए। यो नाममा सबै प्रदेशबासीको प्रतिनिधित्व हुने उनको भनाइ छ।

जसपाकी निर्मला लिम्बूले भने कोसी प्रदेश राख्दा आफ्नो असहमति रहेको बताइन्। संसदमा रोदनमिश्रित भावमा उनले भनिन्, ‘मलाई नामकरणको विषयमा हिजोमात्रै थाहा दिएर अपमान गरियो।’

यसअघि एमालेले नामकरणका लागि प्रस्ताव पेस गर्दै कोसी सभ्यता रहेको बताएको थियो। ‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैँले गर्नुपर्ने दायित्व पूरा गर्न यस प्रदेशमा विकसित भएका हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बूवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृतिसमेतलाई समेट्ने गरी तथा कोसी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारका रूपमा हिमालदेखि पहाड र तराईको भू-भागमा कोसी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धिसमेत जोडिएको हुनाले यस प्रदेशको नाम कोसी प्रदेश राख्न उपयुक्त ठानिएको छ।’ प्रस्तावमा भनिएको छ।

प्रदेश १ कूल ९३ जना सांसद छन्। जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद आवश्यक पर्छ। प्रदेश १ प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन्।

सर्वपक्षीय छलफलबाटै नामकरण टुंगो लगाउने प्रयत्न गरिएको बताइएको छ।

प्रकाशित: १७ फागुन २०७९ २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =