बुटवलमा एमालेको मिसन ग्रासरुट अभियान सुरु, तल्लो तहमा बलियो पकड बनाउने दाबी

हिमाल प्रेस १७ फागुन २०७९ १८:३३
6
SHARES
बुटवलमा एमालेको मिसन ग्रासरुट अभियान सुरु, तल्लो तहमा बलियो पकड बनाउने दाबी

लुम्बिनी– नेकपा एमालेको मिसन ग्रासरुट अभियान बुटवलमा सुरु भएको छ। बुटवल उपमहानगरपालिका-१३ बेलवासमा पार्टी स्थायी कमिटी सदस्य एवम् पार्टी विदेश विभाग प्रमुख डा. राजन भट्टराईको अगुवाईमा अभियान सुरु भएको हो।

‘एमाले तल्लो तहका कार्यकर्ताले जोगाएको पार्टी हो, यसमा अझै धेरैलाई जोड्न जरुरी छ,’ कार्यक्रममा उनले भने। अभियानले पार्टी झनै बलियो बन्ने दाबी गर्दै उनले पार्टी छोड्ने नेताले एमाले सकिन्छ भनेर लगाएको आरोप सत्य सावित नहुने उनको भनाइ छ।

राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझै प्रभावकारी बनाउन युवालाई पार्टीप्रति आकर्षण गर्न जरुरी रहेको उनको भनाइ छ।

देश र जनताको हितलाई केन्द्रमा राखेर एमालेले नीति कार्यक्रम बनाएको बताउँदै नेता भट्टराईले यसबारे तल्लो तहका कार्यकर्तालाई जानकारी गराउन तथा राष्ट्रिय एकता र विकास निर्माणमा पार्टीले खेलेको भूमिकाबारे आमनागरिकलाई जानकार बनाउन अभियानलाई सफल पार्न आग्रह गरे।

‘मुलुक इतिहासकै अप्ठ्यारो मोडमा छ, अहिले अन्तर्राष्ट्रिय शक्ति मिलेर हामीलाई एक्ल्याउन खोजेका छन्। प्रतिकूलतालाई अनुकूलतामा बदलेर अघि बढ्न पार्टीलाई सबैको साथ आवश्यक छ,’ उनले भने।

एमालेका पेलिट्ब्युरो सदस्य वैजनाथ चौधरीले पार्टी अराजकताको अन्त्य गरी पार्टीलाई सशक्त बनाउन अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे।

‘पहिले एक समयमा सिंगो मुलुकको हेडक्वाटर बुटवल थियो। यो ठाउँले धेरै दिग्गज नेता जन्माएको छ, यस्तो ठाउँमा सिन ग्रासरुटले अझै सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने।

अभियानअन्तर्गत प्रदेश तथा जिल्लास्तरका पार्टीका नेताले वडादेखि पालिकास्तरसम्मका कार्यकर्तालाई प्रशिक्षण दिइनेछ। स्थानीय तह, संघ र प्रदेश निर्वाचनमा हार व्यहोर्नुको कारण र त्यसको कमीकमजोरीबारे पनि अभियानमा कार्यकर्तामाझ व्यापक छलफल गरी सुदृढीकरणमा जागरुक गराइने एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।

अभियानअन्तर्गत यही २० गते बुटवल उपमहानगरका-१९ वटै वडा र २८ गते उपमहानगरका २ सय ९९ टोलमा अभिमुखीकरण गरिने नगर अध्यक्ष किसन ज्ञवालीले बताए।

यस्तै चैत १० गतेभित्र सदस्यता विस्तार तथा नवीकरण, १५ गतेसम्म भेला बैठक, २५ सम्म वैचारिक प्रशिक्षण तथा विकास र निर्माण र जनजीविकाका सम्बन्धमा छलफल, सहिद परिवार तथा विशिष्ट व्यक्तिलाई सम्मान, पत्रकार तथा बुद्धिजीवीसँग सुझाव संकलन गरिने केसीको भनाइ छ।

२ महिने अभियानको अन्त्यमा गरेका कामको प्रतिवेदन सार्वजनिक गरिने छ। अभियान सफल बनाउन बुटवलमा ४० जना केन्द्र, प्रदेश र जिल्ला कमिटीका सदस्यका छनोट गरी जिम्मेवारी दिइएको छ। अभियान वैशाख ९ गते समापन हुने उनले बताए।

प्रकाशित: १७ फागुन २०७९ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =