हवाई भाडामा कोरियन एयरलाइन्सको मनाेमानी, अनुसन्धान गर्न माग

हिमाल प्रेस १६ फागुन २०७९ १७:११
4
SHARES
हवाई भाडामा कोरियन एयरलाइन्सको मनाेमानी, अनुसन्धान गर्न माग

काठमाडौँ- हवाई भाडामा कोरियन एयरलाइन्सले गरेको मनाेमानी नियन्त्रण गर्न माग गरिएको छ। सरोकारवालाले नेपाल सरकारले हस्तक्षेप गरी कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मनाेमानी अन्त्य गर्न माग गरेका हुन्।
सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा सो माग गरिएको हो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले उक्त माग गरेका हुन्। उनीहरूले नेपालबाट दक्षिण कोरिया जान अन्य एयरलाइन्सको तुलनामा ३६ प्रतिशत महँगो हवाई भाडा रहेको भन्दै सरकारले हस्तक्षेप गर्न आवश्यक रहेको बताएका हुन्।

उनीहरूले कोरियन एयरलाइन्सले मनोपोली रूपमा लिने गरेको हवाई भाडा घटाउन सरकारको हस्तक्षेप बिना सम्भव नभएको दाबी गरे। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले दक्षिण कोरिया जाने कामदार वा भिजिट भिसामा जाने सबैलाई न्यायोचित भाडादर हुनुपर्ने बताए। उनले कोरियन एयरलाइन्सले अन्य एयरलाइन्सको तुलनामा ३६ प्रतिशतसम्म बढी भाडा लिएकाले सरकारले तत्काल हस्तक्षेप गर्न आवश्यक रहेको बताए।

रेग्मीले नेपाली एयरलाइन्सले दक्षिण कोरियाका लागि ७० हजार रुपैयाँदेखि १ लाख ५५ हजार रुपैयाँसम्म भाडा लिए पनि कोरियन एयरलाइन्सले करिब दोब्बर भाडा लिइरहेको दाबी गरे। उनले काठमाडौँबाटभन्दा भारतको नयाँ डिल्लीबाट कोरियाको भाडा सस्तो रहेको उनको भनाइ थियो।

भारतको भन्दा नेपालमा हवाई इन्धन ३६ प्रतिशत महँगो भएतापनि भाडा पनि १२ प्रतिशतसम्म महँगो हुनुपर्नेमा ३६ प्रतिशत नै बढी लिनु गलत रहेको रेग्मीले बताए। सन् २०१९ सम्म एक हजार डलरमा उडान भइरहेकोमा पछिल्लो चार वर्षमा यस्तो धेरै भाडा बढ्नुपर्ने परिर्वतन केही नभएको सरोकारवालाले बताएका छन्।

अन्य एयरलाइन्सको भाडा नबढेको तर कोरियन एयरलाइन्सको मात्रै भाडा किन बढ्यो भन्ने विषयमा अनुसन्धान गर्न जरुरी रहेको सरोकारवालोको माग छ। त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले पनि कोरियन एयरलाइन्सले ३६ प्रतिशत बढी भाडा लिएको विषयमा सरकारले हस्तक्षेपको कमी रहेको बताए।

भाडा घटाउन अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई प्राधिकरणले दबाब दिन नसक्ने उनको भनाइ छ। अधिकारीले कोरियन एयरलाइन्सको भाडादरको मनोपोली नियन्त्रण गर्न राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स सक्रिय हुनुपर्ने पनि बताए।

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले निगम राष्ट्रिय ध्वाजावाहकको उपस्थितिले भाडा नियन्त्रण हुने विषयमा सहमत रहेको बताए। निगमको उपस्थिति बढाउन निगमले पहल गरिरहेको उनको भनाइ थियो।

प्रकाशित: १६ फागुन २०७९ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =