तीन वर्षभित्र बिजुलीमा आत्मनिर्भर हुन्छौँ : कुलमान घिसिङ

हिमाल प्रेस १६ फागुन २०७९ १६:४६
8
SHARES
तीन वर्षभित्र बिजुलीमा आत्मनिर्भर हुन्छौँ : कुलमान घिसिङ

काठमाडौँ- नेपाल सन् २०२६ सम्ममा सुख्यायाममा पनि बिजुलीमा आत्मनिर्भर हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। अमेरिकी सहयोग नियोग (यूएसएड) ऊर्जा नेपाल कार्यक्रमले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रका लागि वित्तपोषण’ विषयक कार्यशालामा उक्त भनाइ राखेका हुन्।

‘हामी सन् २०२६–२०२७ सम्म बिजुलीमा आत्मनिर्भर हुन्छौँ। त्यो बेला नेपालले वर्षायाममा करिब १ खर्ब रुपैयाँ बराबरको १४ करोड युनिट बिजुली बिक्री गर्ने हाम्रो अनुमान छ,’ घिसिङले भने। सन् २०५० सम्ममा काठमाडौँ उपत्यकामा मात्र ३२०० मेगावाट बराबर बिजुली खपत हुने अनुमान गरिएकाले त्यसका लागि संरचना तयार पार्न आवश्यक रहेको घिसिङको भनाइ छ।

अहिले काठमाडौँ उपत्यकाको वितरण प्रणालीले करिब ५०० मेगावाट बिजुली मात्रै आपूर्ति गर्न सक्छ। काठमाडौँ उपत्यकाको वरिपरि २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने, उपत्यकाभित्रको सबै १३२ केभी प्रसारण लाइनलाई भूमिगत गर्ने र उपत्यकाभित्र थप २० वटा सवस्टेशन निर्माण गर्नेगरी प्राधिकरणले काम गरिरहेको घिसिङले बताए।

त्यस्तै, देशभरका मुख्य सहरी क्षेत्रमा विद्युत् व्यवस्थापनको दीर्घकालीन कार्ययोजना तयार पारिएको पनि घिसिङको भनाइ छ। काठमाडौँ उपत्यकालगायत मुख्य सहरी क्षेत्रको वितरण प्रणाली सुदृढीकरणका लागि पनि लगानी आश्यक रहेको उनले बताए।

घिसिङले उत्पादन, प्रसारण र वितरण तीनवटै क्षेत्रमा लगानी आवश्यक रहेको बताए। त्यसका लागि विद्युत् प्राधिकरणले पुँजी लगानी योजना (क्यापिटल इन्भेस्टमेन्ट प्लान) बनाउन लागेको उनको भनाइ छ। घिसिङले भने, ‘उत्पादनतर्फ माथिल्लो अरुण, दूधकोसी, अरुण–४, तामाकोसी–५, चैनपुर सेती, मोदीखोलालगायत जलविद्युत् आयोजना निर्माणका लागि तयारी अवस्थामा रहेको भए पनि आयोजनामा लगानी जुटाउनु चुनौती छ।’

प्रकाशित: १६ फागुन २०७९ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =