पुस १० गतेको गल्ती सच्याइयो : महामन्त्री थापा

हिमाल प्रेस १६ फागुन २०७९ १४:५८
पुस १० गतेको गल्ती सच्याइयो : महामन्त्री थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० गतेको गल्ती सच्याइएको बताएका छन्। मंगलबार काठमाडौँ क्षेत्र नम्बर ४ सांसदको कार्यालय उद्घाटन गर्दै उनले पुस १० गते भएको अप्राकृतिक गठबन्धन बनाउने गल्ती सच्याइएको बताएका हुन्। निर्वाचन अघिको गठबन्धन भत्काएर पुस १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्ती भएको भन्दै उनले सोही गल्ती सच्याइएको बताए।

निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताबीच मुलुक बनाउने प्रतिबद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिबद्धता पालना नगरेकाले अहिले ढिलो भए पनि निर्वाचन अघिको गठबन्धनलाई ब्यूँताउन सफल भएको उनको भनाइ थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दाबी गरे। अब गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो।

जनतालाई कामले परिणाम दिन नसके फेरि अप्ठ्यारो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १६ फागुन २०७९ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =