फिफा वर्ष खेलाडी बने मेस्सी : नेपालको मत कसलाई?

हिमाल प्रेस १६ फागुन २०७९ ११:४९
10
SHARES
फिफा वर्ष खेलाडी बने मेस्सी : नेपालको मत कसलाई?

काठमाडौँ- लियोनल मेस्सी फिफा वर्ष खेलाडी २०२२ चुनिएका छन्। गत वर्ष कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सी पुुरुषतर्फको विजेता बन्दा स्पेनकी एलेक्सिया पुटेलास महिलातर्फको विजेता बनिन्।

फ्रान्सेली राजधानी पेरिसमा आयोजित समारोहमा मेस्सीले ‘फिफा द बेस्ट’ को मुख्य पुरस्कार पाउँदा स्थानीय स्टार किलियान एम्पबाप्पे र करिम बेन्जेमा दोस्रो तथा तेस्रो स्थानमा रहे। मेस्सीले दोस्रो पटक फिफा वर्ष खेलाडीको पुरस्कार पाएका हुन्। यसअघि सन् २०१९ मा उनी भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भएका थिए।

सन् २०१६ मा फ्रान्स म्यागजिनसँगको सहकार्य अन्त्य गर्दै फिफाले आफैँ वर्ष खेलाडी पुरस्कार दिन थालेको हो। त्यसअघि फिफा र फ्रान्स म्यागजिनले संयुक्त रुपमा फिफा बालोन डोर पुरस्कार वितरण गर्थे। यो सिलसिला सन् २०१० देखि २०१५ सम्म चल्यो।

फिफा वर्ष खेलाडी चुन्न विश्वभरका राष्ट्रिय टिमका प्रशिक्षक र कप्तान अनि त्यही देशका पत्रकारले मतदान गरेका हुन्। मतदानमा समर्थकलाई सहभागी गराइएको थियो।

विश्वकप फाइनलमा फ्रान्सलाई पछि पार्दा दुई गोल गरेका मेस्सीले पेनाल्टीमा पनि गोल गरेका थिए। विश्वकपमा उनलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार गोल्डन बल दिइएको थियो। मेस्सीभन्दा एक गोल बढी गरेका एम्बाप्पेले भने गोल्डन बुट पाएका थिए।

सन् २०२२ को बालोन डोरमा नछानिएका मेस्सीले फिफाको पुरस्कार पाएपछि भने, ‘गएको वर्ष मेरा लागि अविस्मरणीय रह्यो। किनभने म आफ्नो सपना पूरा गर्न सफल भए। जसका लागि मैले कडा मेहनत गर्दै आएको थिए। विश्वकप जित्नुलाई म आफ्नो करियरकै सबैभन्दा सुन्दर क्षण मान्छु। विश्वकप जित्ने सपना सबैको हुन्छ, तर थोरैले मात्र यो सपना पूरा गर्न सक्छन्,’ मेस्सीले भने।

सन् २०२० र २०२१ मा पोल्यान्ड तथा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित भएका थिए। यसपल्ट उनी १२ औँ स्थानमा रहे। शीर्ष पाँचमा मेस्सी, एम्बाप्पे र बेन्जेमाबाहेक लुका मोड्रिच र एर्लिङ हालान्ड परे।

महिलातर्फ स्पेन तथा बार्सिलोनाका मिडफिल्डर पुटेलासले अमेरिकी स्टार स्ट्राइकर एलेक्स मोर्गान र इंग्ल्यान्डकी बेथ मिडलाई पछि पारिन्। लगातार दुई पटक बालोन डोर जितेकी पुटेलासले गत वर्ष करिब आधा समय मैदानबाहिर बिताएकी थिइन्। चोटका कारण युरो पनि गुमाएकी पुटेलास अहिले पनि पूर्ण रुपमा फिट भइसकेकी छैनन्।

घाइते हुनुअघि उनले च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि ११ गोल गरेकी थिइन्। बार्सिलोना फाइनलमा लियोनसँग पराजित भएको थियो।

घुँडाको चोटका कारण लामो समय मैदानबाहिर रहेकी पुटेलास यो सिजन पुनरागमन गर्न चाहन्छिन्। यद्यपि आगामी जुलाई र अगस्टमा हुने महिला विश्वकप खेल्न पाउँछिन् कि पाउँदैनिन्, टुंगो छैन।

अर्जेन्टिनालाई विश्वकप जिताउने लियोनल स्कालोनी वर्ष प्रशिक्षक र सोही टिमका इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक चुनिए। स्कालोनीलाई रियल म्याड्रिडका कार्लो एन्सिलोट्टी र म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले पछ्याए। त्यसैगरी मोरोक्कोका वालिद रेग्रागुई र फ्रान्सका डिडियर डेस्चाम्प्स वर्ष प्रशिक्षक बन्ने दौडमा चौथो र पाँचौँ स्थानमा रहे।

उत्कृष्ट गोलरक्षकको सूचीमा बेल्जियम तथा रियल म्याड्रिडका थिबाउट कोर्टुवा, मोरोक्को तथा सेभियाका यासिन बौनौ, ब्राजिल तथा लिभरपुलका एलिसन र उनकै देशका एडरसन शीर्ष पाँचमा रहे।

इंग्ल्यान्डलाई युरो जिताएकी डच प्रशिक्षक सरिना विगमनले महिलातर्फको वर्ष प्रशिक्षक पुरस्कार पाइन्। फ्रान्सेली क्लब लियोनकी सोनिया बोम्पास्टर र ब्राजिलकी प्रशिक्षक पिया सुन्ढाग दोस्रो तथा तेस्रो स्थानमा रहे।

पुस्कास भने पोल्यान्डका मार्सिन ओक्सीले हात पारे। त्यसैगरी मार्सेका डिमिट्री पायट र ब्राजिलका रिचारलिसन पुस्कासको प्रतिस्पर्धामा दोस्रो र तेस्रो बने।

नेपालको भोट
विश्व फुटबल नियामक संस्था फिफाले ‘द बेस्ट’ अन्तर्गत विभिन्न विधामा वितरण गर्ने पुरस्कारमा प्रत्येक राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान अनि त्यस देशका एक पत्रकारले मतदान गर्न पाउँछन्। यस्तोमा कौतुहल हुनसक्छ, नेपालका प्रतिनिधिले कसलाई मत दिए भनेर।

नेपाली राष्ट्रिय टिमका कार्यवाहक प्रश्क्षिक प्रवेश कटुवालले वर्ष खेलाडीको मतदानमा लियोनल मेस्सीलाई चुनेका छन्। उनले दोस्रो र तेस्रो स्थानमा किलियान एम्बाप्पे र भिनिसियस जुनियरलाई राखेका छन्।

कप्तान किरण कुमार लिम्बुले मतदान गर्दा एम्बाप्पेलाई पहिलो, मेस्सीलाई दोस्रो र लुका मोड्रिचलाई तेस्रो स्थानमा राखेका छन्। पत्रकार विक्रम थापाले पनि मेस्सीलाई सबैभन्दा बढी मत दिँदा एम्बाप्पे र लुका मोड्रिचलाई दोस्रो र तेस्रो स्थानमा राखेका छन्।

प्रशिक्षकतर्फको मतदानमा प्रवेशले सबैभन्दा बढी मत पेप ग्वार्डिओलालाई दिएका छन् भने लियोनल स्कालोनी तथा वालिद रेग्रागुई दोस्रो र तेस्रो रोजाइमा राखेका छन्। कप्तान किरणको पहिलो रोजाइ भने स्कालोनी, दोस्रो रोजाइ डिडियर डेस्चाम्प्स र तेस्रो रोजाइमा रेग्रागुई छन्। पत्रकार विक्रमले स्कालोनी, डेस्चाम्प्स र रेग्रागुईलाई पहिलो, दोस्रो र तेस्रो स्थानमा राखेका छन्।

उत्कृष्ट गोलरक्षकको मतदानमा प्रशिक्षक प्रवेशले इमिलियानो मार्टिनेजलाई पहिलो, एलिसनलाई दोस्रो र यासिन बौनौलाई तेस्रो स्थानमा राखेका छन्। कप्तान किरण र पत्रकार विक्रमले पनि मार्टिनेजलाई पहिलो स्थानमा राखेका छन्। किरणको दोस्रो र तेस्रो रोजाइमा बौनौ र एलिसन छन् भने विक्रमले बौनौ र एलिसनलाई दोस्रो तथा तेस्रो स्थानमा राखेका छन्।

प्रकाशित: १६ फागुन २०७९ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =