सुर्खेतमा गौ संरक्षण : रकम संकलन गर्न कन्सर्ट आयोजना

हिमाल प्रेस १५ फागुन २०७९ १९:१०
2
SHARE
सुर्खेतमा गौ संरक्षण : रकम संकलन गर्न कन्सर्ट आयोजना

सुर्खेत- गौ संरक्षणका लागि कर्णाली युवा क्लबले कन्सर्ट गर्ने भएको छ। फागू पुर्णिमा होली पर्वको पूर्वसन्ध्यामा फागुन २१ गते वीरेन्द्रनगरस्थित खुला मञ्चमा क्लबले सांस्कृतिक कार्यक्रम गर्ने भएको हो।

क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो। क्लबका सचिव बविन पोखरेलले कन्सर्ट कार्यक्रममा पप गायक अनिल सिंहको मुख्य प्रस्तुति रहने बताए। त्यस्तै स्थानीय कलाकारहरूले पनि प्रस्तुति दिनेछन्।

कार्यक्रममा राउटेहरूलाई नचाउने तथा घैँटो फुटाउने कार्यक्रम राखिएको छ। फागुन २१ गते बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमका लागि दुई किसिमका प्रवेश शुल्कको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा प्रवेशका लागि विद्यार्थीलाई प्रतिटिकट २ सय ५० रुपैयाँ र अन्यका लागि प्रतिटिकट ५ सय रुपैयाँ शुल्क लाग्ने क्लबका सचिव पोखरेलले बताए।

आयोजकले करिब ३ हजार टिकट बिक्री गर्ने लक्ष्य लिएको छ। आयोजकले कार्यक्रमबाट उठेको रकममध्येबाट २० प्रतिशत रकम वीरेन्द्रनगर– १० मा रहेको गौशालामा सहयोग गर्ने पोखरेलको भनाइ छ। ‘गौशाला निर्माण भए पनि सञ्चालनमा समस्या भइरहेको छ’ उनले भने, ‘त्यसैले हामीले केही रकम संकलन गरी सहयोग गर्ने योजना बनाएका हौँ।’

होली पर्वको समयमा हुन सक्ने घटना, मदिरा सेवन तथा झैझगडालाई पनि मध्यनजर गर्दै आयोजकले प्रहरी प्रशासनसँग पनि समन्वय गरी शान्तिपूर्ण ढंगले कार्यक्रम सञ्चालन गर्ने क्लबको भनाइछ। ‘हामीले कार्यक्रमस्थलमा मदिरा निषेध गरेका छौं’ उनले भने, ‘यसबारे प्रहरीसँग पनि छलफल गरी तयारी गरेका छौँ।’

क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमसँगै खेलकुद पुर्वाधार निर्माणलगायतका सामाजिक काम गर्दै आएको छ।

प्रकाशित: १५ फागुन २०७९ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =