चिनियाँ लगानी र पर्यटक आकर्षित गर्दै नेपाली दूतावास

अजय अलौकिक १४ फागुन २०७९ २१:३२
12
SHARES
चिनियाँ लगानी र पर्यटक आकर्षित गर्दै नेपाली दूतावास

बेइजिङ- कोभिड १९ महामारीपछि राजधानी बेइजिङसहितका चिनियाँ शहरहरू अहिले पूर्ववत् अवस्थामा फर्किसकेका छन्। सडक, बाटो, मेट्रो, बस, पर्यटकीयस्थल, सिनेमाघर, क्याफे, रेस्टुराँ, मल जतातै पहिलेजस्तै भीडभाड देखिन्छ। भर्खरै चिनियाँहरूले उत्साहपूर्वक आफ्नो वसन्त चाड धुमधामसँग मनाएका पनि थिए। योसँगै चिनियाँहरूको देश देशान्तरको यात्रा पनि आरम्भ भइसकेको छ।

यसै अवस्थालाई मध्यनजर गरेर चीनका लागि नेपाली दूतावासले पनि एकपछि अर्को विविध कार्यक्रम र गोष्ठीको आयोजना थालेको छ। यही फागुन १६ गते ‘नेपालमा लगानी तथा पर्यटन अवसरहरूमा गोष्ठी’ आयोजना गर्दैछ भने एक साताअघि फागुन १० गते ‘नेपालको जलविद्युत क्षेत्रमा लगानीका अवसरहरू’ गोष्ठीको आयोजना गरेको थियो।

नेपालको सबैभन्दा ठूलो लगानीकर्ता र दोस्रो व्यापार साझेदार मुलुक चीनबाट जलविद्युत, पर्यटन, कृषि, विज्ञान तथा स्वास्थ्य क्षेत्र र पूर्वाधार निर्माणमा थप लगानी तथा सीप भित्र्याउनसके नेपालले लाभ लिनसक्ने छ। यसैगरी दोस्रो पर्यटकीय स्रोत मुलुक समेत रहेको चीनबाट ३० करोड चिनियाँ बौद्धमार्गीसहित विविध वर्गका चिनियाँलाई नेपाल भ्रमणमा आकर्षित गराउनसके नेपाली अर्थतन्त्रले राम्रो गति पनि पाउने छ।

नेपालको अद्वितीय संस्कृति, प्रकृति, साहसिक खेल तथा धार्मिकस्थलमा चिनियाँ पर्यटक आकर्षित भएको पाइन्छ। नेपाल सरकारले सन् २०१६ देखि चिनियाँ पर्यटकलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ। सन् २०१९ मा १ लाख ७० हजारभन्दा बढी चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यसैबीच हालैमात्र बेइजिङ– काठमाडौँ सिधा उडान सुरू भएकोमा भर्खरै छन्तु (चेङदु) – काठमाडौँ रूटमा एयर चाइनाले उडान थप गरेको छ।

नेपालमा लगानीको वातावरण तथा पर्यटन अवसरसम्बन्धमा चिनियाँ व्यापारी तथा उद्यमीहरूलाई जानकारी दिने उद्देश्यसहित यस गोष्ठीको आयोजना गर्न लागिएको दूतावासका काउन्सलर सबिता नकर्मीले बताइन्। ‘गोष्ठीमा विविध चिनियाँ संस्थाका प्रतिनिधिलाई नेपालको परिचय प्रस्तुत गर्दै नेपालमा पर्यटन तथा लगानीका क्षेत्र, आकर्षण, लगानी वातावरण तथा पर्यटकीय गन्तव्यबारेम जानकारी दिइने छ’ उनले भनिन्।

कोभिड १९ महामारीअघि नेपाली दूतावासले नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी ‘नेपालमा पर्यटन’ सम्बन्धी एक भव्य कार्यक्रमको आयोजना गरेको थियो। त्यसपछि गतवर्ष २०२२ को अन्ततिर सगरमाथा आरोही चिनियाँहरूको सम्मानमा एक विशेष पर्यटन कार्यक्रम गरेको थियो।

यसैगरी, गत साता आयोजित ‘नेपालको जलविद्युत क्षेत्रमा लगानीका अवसरहरू’ गोष्ठीमा चिनियाँ लगानीकर्ताहरुले नेपालमा जलविद्युत लगानीका सम्भाव्यताबारे चासो देखाउनुकासाथै कतिपय लगानीकर्ता नेपाल जाने तयारीसमेत गरिसकेको काउन्सलर नकर्मीले बताइन्। ‘कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ’ उनले भनिन्, ‘कतिपय लगानीकर्ता नेपाल जाने भइसकेका छन्, कतिपय लगानीकर्ता दूतावासको सम्पर्कमा आइरहेका छन्।’

जलविद्युतको सर्वउपलब्धताले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र अवसरैअवसरको ढोका खोल्ने अपेक्षा नेपाली दूतावासले गरेको छ। नेपालमा पछिल्लो समय जलविद्युतमा लगानी गर्ने वातावरण पनि बन्दै गएको देखिन्छ। साथै, नेपालमा जलविद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावाट रहेको यसअघिका विभिन्न अनुसन्धानले देखाएको छ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा जलविद्युत क्षेत्रमा लगानीका प्रचुर सभावना रहेको भन्दै ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने प्राविधिक सम्भाव्यता अध्ययन भइसकेको बताए। राजदूत श्रेष्ठले लगानीकर्तासमक्ष नेपाल अतिकम विकसित मुलुकबाट सन् २०३० मा विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएकोले छिमेकी मुलुकबाट लगानीको अपेक्षा गरेको पनि बताए।

यस्तै, चीन सीमापार विकास संघ कोडाका अध्यक्ष ह चनवैले नेपालमा लगानी सम्भावना प्रचुर देखेको बताउँदै नेपालमा आयोजित लगानी सम्मेलनमा समेत सहभागी भएको तथा लगानी अवस्थाबारे जानकारी रहेको बताए। दि पावर चाइना इन्टरनेशनल ग्रूप लिमिटेडमातहत इन्भेस्टमेन्ट एण्ड फाइनान्सिङ डिपार्टमेन्ट नम्बर एकका प्रमुख व्यवस्थापक थोङ काङले नेपालमा सफल लगानीको अनुभव साझा गर्दै पावर चाइना ११ वटा ऊर्जा प्रोजेक्ट्स, ५ पूर्वाधार र ३ जलस्रोत प्रोजेक्ट्समा संलग्न रहेको बताए।

लगानी बोर्ड नेपाल, नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरू अनलाइनमार्फत उक्त गोष्ठीमा सहभागी हुँदै नेपालमा जलविद्युत क्षेत्रमा लगानीका अवस्था र सम्भाव्यताबारे जानकारी दिएका थिए।

यसैगरी, एसियाली पूर्वाधार लगानी बैंकका वरिष्ठ कानुनी सल्लाहकार डाक्टर किशोर उप्रेतीले कानूनी पक्षबाट नेपालमा हाइड्रोपावरका लागि फाइनान्सिङ स्रोतको चुनौती र सम्भावनाबारे जानकारी गराए।

प्रकाशित: १४ फागुन २०७९ २१:३२

प्रतिक्रिया

One thought on “चिनियाँ लगानी र पर्यटक आकर्षित गर्दै नेपाली दूतावास

  1. This is how the Embassy needs to work. We are expecting such workshops, roadshows, and interactions to be held in other metropolitan cities as well. Highly appreciated the ambassador and his team.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =