विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन गर्दै सरकार

हिमाल प्रेस १४ फागुन २०७९ १८:१९
4
SHARES
विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन गर्दै सरकार फाइल तस्बिर।

काठमाडौँ- नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डले औसत खर्चको यकिन तथ्यांक र विदेशी पर्यटकको औसत खर्च दर पत्ता लगाउने उद्देश्यले आइतबारदेखि अध्ययन सुरु गरेको हो।

बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्यांक निकाल्ने उद्देश्यले अध्ययन सुरु गरिएको बताए। ‘दुई हजार नमुना संकलन गरी अध्ययन हुनेछ’ उनले भने, ‘बोर्डबाट खटिने पाँच कर्मचारीले प्रत्येक दिन १० वटा प्रश्नको प्रश्नावली भरेर ४० दिनभित्र यो काम सक्नेछन्।’

बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का विद्यार्थी यो अध्ययनमा संलग्न छन्। नेपालमा विदेशी पर्यटकले कति खर्च गर्छन् भन्ने यकिन तथ्यांक निकाल्न अध्ययनले सहयोग पुग्ने निर्देशक लामिछानेले बताए।

उनका अनुसार सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको छ। सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गर्ने गरेका छन्। सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने निर्देशक लामिछानेको भनाइ छ।

‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ को प्रमुख टुलका रूपमा अध्ययन सुरु गरिएको बोर्डले जानकारी दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय तथ्यांक कार्यालय र नाथमको सहकार्यमा पर्यटकको खर्चसम्बन्धी अध्ययन थालिएको हो।

पछिल्ला दिनमा विदेशी पर्यटक आउनेक्रम बढेको छ। बोर्डको तथ्यांकअनुसार अंग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। गतवर्ष ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटक भित्रिएका बोर्डको तथ्या.क छ।

कोभिड–१९ महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ विदेशी पर्यटक नेपाल आएकामा सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सख्या ८१ प्रतिशतले घटेको थियो। सो वर्ष २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आएका थिए। २०२१ मा १ लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। रासस

प्रकाशित: १४ फागुन २०७९ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =