स्थानीय परिकार र दृश्यावलोकनका लागि पुग्नैपर्ने ‘बनौँ लेक’

हिमाल प्रेस १४ फागुन २०७९ १६:४५
4
SHARES
स्थानीय परिकार र दृश्यावलोकनका लागि पुग्नैपर्ने ‘बनौँ लेक’

गलकोट- गतवर्षसम्म गुमनाम रहेको ‘बनौँ लेक’ अहिले चर्चामा छ। बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरू अहिले पर्यटकीयस्थलका रूपमा चिन्न थालेका छन्। पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण पछिल्लो एक वर्षमा सयौँ आन्तरिक पर्यटक बनौँ लेक पुग्ने गरेका छन्।

अहिले बनौँँमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो ह्वात्तै बढेको छ। बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि पर्यटकलाई लक्षित गरी घरवास तथा विभिन्न होटलसमेत सञ्चालन गरिएको छ। चिसो हावापानीसहित चिटिक्क परेको गाउँमा अहिले दृश्यावलोकन, जैविक परिकारको स्वाद तथा सूर्योदय हेर्नका लागि आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन्।

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा रहेको बनौँमा एक वर्षअघि मात्रै कालोपत्रे सडक पुगेपछि बागलुङ, पर्वत, म्याग्दी र काठमाडौँलगायतका क्षेत्रबाट आन्तरिक पर्यटक यहाँ आउन थालेका हुन्। बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि भारतीय सेनाबाट अवकाश प्राप्त डम्मरबहादुर फगामीले ‘काकई सामइ घरवास’ सञ्चालनमा ल्याएका छन्।

बनौँमा सडकको सहजतासँगै बढ्दै गएका आन्तरिक पर्यटकलाई लक्षित गरी आफूले नौ महिनाअघि घरवास सञ्चालनमा ल्याएको उनले बताए। ‘पर्यटकलाई आउन सडक नै चाहिँदो रहेछ’ उनले भने, ‘एक वर्षअघि सडक कालोपत्र पुगेपछि यहाँ आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ।’

सामाजिक सञ्जालको प्रभावका कारणसमेत यहाँ आउनेको संख्या बढेको उनको भनाइ थियो। राजमार्गसँग जोडिएका बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामबाटै एक-डेढ घण्टाको यात्रामा बनौँ पुग्न सकिन्छ। फगामीले ५० लाख रुपैयाँ लगानीमा घरवास सञ्चालनमा ल्याएका दिए। अहिले औषतमा दैनिक २० जनासम्म पाहुँना राख्ने क्षमता रहेको उनको भनाइ छ।

२४ वर्ष भारतीय सेनामा काम गरी नायब सुबेदारबाट ६ वर्षअघि अवकाश पाएर गाउँ आएका फगामीले आफूलाई शहरको मोह नभएका कारण गाउँमै घरवास सञ्चालनमा ल्याएको बताए। फगामीका अनुसार शुक्रबार र शनिबार आफ्नो घरबासमा पर्यटकको चाप हुने र अघिपछिको समयमा थोरै मात्र पाहुना आउँछन्।

फगामीको काकई सामइ घरवास जैविक परिकारका पारखीका लागि गन्तव्य बनेको छ। एनको घरबासमा लोकल कुखुरा, सिस्नो, कोदोको ढिँडो, गुन्द्रुक , मकै, भट्मास, आलु, जौको ढिडो र खसीको मासुलगायत परिकार पाइन्छ।
यहाँ आउने पर्यटक शहर बजारको कोलाहल छल्न, हल्जुरेडाँडाबाट दृश्यावलोकन गर्न र देवीथान मन्दिर दर्शनका लागि आउने उनको भनाइ छ।

जलजला गाउँपालिका-९ स्थित बनौँ लेकमा सबैभन्दा बढी पर्यटक बागलुङबाट आउने गरेको उनको भनाइ छ। बनौँ गाउँमा पर्यटकको संख्या वृद्धि भएसँगै पछिल्लो समय घरवाससहित होटल पनि सञ्चालनमा आउन थालेका छन्।

चिसो हावापानीमा जैविक स्वाद लिँदै घरवासमा रमाउन बागलुङ बजारबाट बनौँ आएका नारायण रिजालले सामाजिक सञ्जालमा अहिले बनौँ जाने लहडै चलेको देखेपछि आफू पनि आएको बताए। सामाजिक सञ्जालमा बनौँबारे धेरै चर्चा सुनेकाले छ जना साथीसहित उनी बनौँ पुगेका छन्।

बनौँँ लेक पुगेका पर्यटकले देवीथानको डाँडामा बनाइएको वनभोजस्थलमा टेन्ट हालेरसमेत बस्ने गरेका छन्। बनौँ लेकबाट धवलागिरीका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुस्मा बजार एकैसाथ देख्न सकिन्छ। हल्जुरेडाँडाबाट देखिने सूर्योदयले दार्जलिङको झल्को दिने गरेको यहाँ पुग्ने पर्यटक बताउँछन्।

उच्च पहाडी भेगमा पर्ने बनौँ लेकमा उत्पादित आलु निकै स्वादिष्ट हुने गरेको छ। बनौँ लेकबाट धवलागिरी, अन्नपूर्ण, नीलगिरिलगायतका दर्जनाैँ हिमाल अवलोकन गर्न सकिन्छ। रासस

प्रकाशित: १४ फागुन २०७९ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =