लोक तथा दोहोरी गीत प्रतिष्ठानमा ३७ जना निर्विरोध निर्वाचित

हिमाल प्रेस १४ फागुन २०७९ १२:३३
10
SHARES
लोक तथा दोहोरी गीत प्रतिष्ठानमा ३७ जना निर्विरोध निर्वाचित

काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आठौँ केन्द्रीय महाधिवेशन-२०७९ मा निर्विरोध निर्वाचित भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।

३७ जना निर्विरोध निर्वाचित भएका छन्। जसमध्ये प्रतिष्ठानको अध्यक्षमा धादिङकी चर्चित गायिका रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार थापाविरुद्ध उम्मेदवारी नै परेको थिएन। दोहोरी गीतबाट चर्चामा आएकी गायिका हुन्, रीता थापामगर। लोक तथा दोहोरी क्षेत्रमा एक दशकअघिदेखि उनले प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन्। उनीसहित अन्य केही उम्मेदवार पनि सर्वसम्मत निर्वाचित भएका छन्।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका गायक पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत भएका छन्।

सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत चयन भए।

सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ। पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शंकर विसी र तारापति सुवेदीको उम्मेदवारी दिएका छन्।

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत बनेका छन्। हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (सांगठनिक) उपमहासचिवमा सर्वसम्मत भएका छन् भने महिला सचिवमा जमुना राना निर्विरोध चयन भएकी छन्।

कोषाध्यक्षमा अमृत अधिकारी र महिला सह-कोषाध्यक्षमा जुना श्रीष जैकाली निर्विरोध भए। त्यस्तै सात प्रदेशमध्ये उपत्यका सचिवमा प्रकाश सपूत, लुम्बिनी प्रदेश सचिवमा दीपक गरौजा मगर, कर्णाली प्रदेश सचिवमा उत्तम शर्मा, र सुदूरपश्चिमको सचिवमा नवीन सिंह धामी निर्विरोध चयन भएका छन्।

विदेश संगठनको सचिवमा भने रामकृष्ण बम मल्ल सर्वसम्मत चयन भएका छन्। प्रशासनिक सचिवमा जीवन दाहाल, सांगठनिक सचिवमा पीएन सापकोटा, सांगठनिक सहसचिवमा तारानाथ आचार्य, प्रशासनिक सहसचिवमा रामकुमार रायमाझी, विदेश सहसचिवमा दुर्गा पंगेनी र महिला सहसचिवमा सीता राना सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, मधेश प्रदेशको सदस्यमा कृष्णप्रसाद गौतम, सुदूरपश्चिम प्रदेशमा पदमबहादुर धामी, कर्णाली प्रदेश सदस्यमा राजकुमार खत्री रहेका छन्।

यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ।। शुक्रबारदेखि धादिङबेसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनको आज अन्तिम दिन रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =