सन्दीप विदेश जालान् कि जेल वा होला उच्च अदालतकै आदेश सदर?

हिमाल प्रेस १४ फागुन २०७९ ९:३९
12
SHARES
सन्दीप विदेश जालान् कि जेल वा होला उच्च अदालतकै आदेश सदर?

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्ध क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज (आइतबार) हुँदैछ। शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाउँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो। अदालतले सन्दीपको माग स्वीकार नगरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्ततः सन्दीपलाई बाहिरै राखेर नयाँ टिमको घोषणा गरेको थियो।

सर्वोच्च अदालतको आजको फैसलाले सन्दीप विदेश जाने वा जेल जाने भन्ने टुंगो लगाउनेछ। यदि उच्च अदालतकै आदेश सदर गरेको खण्डमा भने उनी जेल जानुपर्दैन। र, उनी विदेश पनि जान पाउने छैनन्।

लामिछानेले फागुन ११ गते धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

उच्च अदालतले विदेश जान प्रतिबन्ध लगाएको छ। साथै काठमाडौँ छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेलगायतका प्रतिबन्ध लगाउँदै लामिछानेलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

सोही आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा माघ १६ गते पुनरावलोकन निवेदन दर्ता गरेको थियो। लामिछानेलाई उक्त मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश खारेज गर्दै सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको थियो। उक्त निवेदनको सुनुवाइपछि अदालतले सो आदेश गरेको हो।

उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश गरेको थियो।

जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरवलोकनको निवेदन दिइएको थियो। उक्त निवेदनमाथिको सुनुवाइमा अदालतले धरौटी लिएर थुनामुक्त गर्न भनेको थियो।

नाबालिग बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो। उनीविरुद्ध नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो। प्रहरीले गत असोज २० गते लामिछानेलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।

प्रकाशित: १४ फागुन २०७९ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =