प्रचण्डले भने ‘ओलीले मान्नु भएन’

'एमाले अब कतै जान सक्ने स्थिति छैन'

हिमाल प्रेस १३ फागुन २०७९ २०:१४
14
SHARES
प्रचण्डले भने ‘ओलीले मान्नु भएन’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल हादाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय सहमति गरौं भनेको ओलीले नमानेको बताएका छन्। महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले शुक्रबार बालुवाटारमा ओलीसँग राष्ट्रिय सहमतिको प्रस्ताव राख्दा नमानेको बताएका हुन्।

‘हिजोकै दिन मैले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बालुवाटारमा तपाई र म राष्ट्रिय सहमतिको सुत्राधार बनौं, नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहमतिले दिऔं भनेको थिएँ’ प्रचण्डले भने, ‘सबभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ। तपाईको पार्टीको सभामुख भएकै छन्। राष्ट्रियसभाको अध्यक्ष पनि छन्। हामी दुवैजना गएर नेपाली कांग्रेसलाई राष्ट्रपतिको पद तपाईहरू लिनुस् भन्यौं भने त एउटा नयाँ राष्ट्रिय सहमति हुन्छ भनेको थिएँ। तर उहाँले मान्नु भएन।’

उनले अहिलेको गठबन्धनमा आबद्ध दलहरूको पूर्वराजासँग साँठगाँठ रहेको आशंका व्यक्त गरे। पूर्वराजासँगको साँठगाँठकै कारण आफूले गठबन्धन परिवर्तन गरेको प्रचण्डको भनाइ थियो। ‘म प्रधानमन्त्री भएपछि जुन शक्तिहरू बडो हौसिए। संविधानले पूर्वराजाका रूपमा बस्न दिएको छ। तर, अरु रूपमा चिन्दैन’ प्रचण्डले भने, ‘ती हौसिँदा म जुन गठबन्धनमा छु, यो गठबन्धन संविधान र राष्ट्रको हितमा छैन भन्ने मैले महसुस गरे।’

कार्यक्रममा प्रचण्डले गरेको सम्बोधनको संवादित अंशः

कतिपय मानिसहरूलाई प्रचण्डले प्रधानमन्त्री पदकै लागि यस्तो गर्यो भनेर लाग्न सक्छ। तर प्रधानमन्त्री त मैले यो ८ दलीय सहमतिभन्दा धेरै उतै पाइसक्या थिए। मुख्य कुरा त्यो होइन। देश, जनता, लोकतन्त्र, स्थायित्व र विकास कुन राजनीतिक प्रक्रियाबाट हुनसक्छ भन्ने कुरा मुख्य हो। त्यसैको निम्ती मैले फेरि एकचोटी पहल लिनुपर्छ भन्ने विश्वाससहित ८ दलीय सहमति भएको हो।

हिजोकै दिन मैले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बालुवाटारमा कुरा गर्दा तपाई र म राष्ट्रिय सहमतिको सुत्राधार बनौं, नेपाली कांग्रेसलाई राष्ट्रपतिका लागि तपाई र मेरो सहमतिले दिऔं, सबभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ। तपाईको पार्टीको सभामुख भएकै छन्, राष्ट्रियसभाको अध्यक्ष पनि छन्। हामी दुवैजना गएर नेपाली कांग्रेसलाई राष्ट्रपतिको पद तपाईहरू लिनुस् भन्यौं भने त एउटा नयाँ राष्ट्रिय सहमति हुन्छ, भनेको थिएँ। तर उहाँले मान्नु भएन। त्यहाँ केही छन्। त्यतापट्टि अहिले म बढी जान चाहन्नँ।

तर हिजो ८ दलको बीचमा जे भयो, यो राष्ट्रिय सहमति नै हो भन्ने मेरा बुझाइ छ। किनभने अहिले हामी त मिल्नु जरुरी त थियो नै। सबैलाई यो राजनीतिक प्रक्रियामा आबद्ध गर्नु पनि जरुरी थियो। एमाले पनि अब कतै जान सक्ने स्थिति छैन। हो उहाँहरू प्रतिपक्षमा जान सक्नुहुन्छ। कतिपय जानुभयो आजमात्रै। आजमात्रै राप्रपाका मन्त्रीहरूले म कहाँ राजिनामा दिनुभयो।

सम्भवतः कानूनी हिसावले एउटा नयाँ प्रक्रियातिर त जानु नै पर्छ। सरकार नयाँ बन्छ, पुनर्गठन हुन्छ आदि इत्यादि। तर फेरि पनि एमालेको सभामुख त हुनुहुन्छ। उहाँहरू त्यहाँबाट फुत्किएर जानसक्ने स्थिति त हुँदैन। यसकारण मैले हिजो राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सहमति गर्नु ८ दलको मात्रै सहमति होइन, यो सिंगो राष्ट्रकै सहमति हो। आम नेपाली जनताकै सहमति हो भन्ने मैले ठानेको छु। र मैले यो प्रक्रियालाई सुदृढ गर्न नेपाल राष्ट्र, नेपाली जनताको हितको निम्ती अझ बढी मिहेनत गर्ने, अझ बढी निष्ठाका साथ काम गर्ने दिनको रूपमा आज महेन्द्रनारायण निधिजीको १०१औं जन्मजयन्तीलाई लिएको छु।

रामचन्द्रजीलाई राष्ट्रपतिको रूपमा राख्दा एउटा लोकतन्त्र, त्यसको दर्शन, त्यसको विचारप्रति प्रतिबद्ध, एउटा पाको नेताको भुमिका उहाँले जुन बनाउनु भएको छ, त्यसले गर्दा उहाँ लोकतन्त्रप्रति र राष्ट्रको हितप्रति काँहीकतै कसैसँग झुक्नु हुँदैन, सम्झौता गर्नुहुन्न भन्ने विश्वास म व्यक्त गर्दछु। र प्रक्रियामा गत कार्यकालमा नेपाली राजनीतिमा जेजस्ता घटनाक्रमहरू भए, संसद विघटन गर्ने कुरा भयो, र संविधानमाथि एकपछि अर्को प्रहार हुने स्थिति देखा पर्यो ती दोहोरिने छैनन्।

र मैले अघि पनि भने, म प्रधानमन्त्री भएपछि जुन शक्तिहरूले बडो हौसिए। संविधानले पूर्वराजाका रूपमा बस्न दिएको छ। तर, अरु रूपमा चिन्दैन। ती हौसिंदा चाँही मैले के महसुस गरे भने म जुन गठबन्धनमा छु, यो गठबन्धन संविधान र राष्ट्रको हितमा छैन। म अहिले धेरै त भन्न चाहन्न । र हामी पटक पटक संविधानमाथि प्रहार हुन थाल्दा सहकार्यमा गयौं, गठबन्धन बनायौं। शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो।

स्थानीय निर्वाचन भयो, प्रदेश र संघको निर्वाचन भयो। पोलिटिकल कोर्सलाई एउटा नयाँ चरणमा पुर्याइयो। यो आफैंमा ठूलो कुरा हो। ७५३ वटा स्थानीय सरकार, ७ वटै प्रदेश सरकार र केन्द्र सरकार बन्नु प्रतिगामीहरूका लागि त एउटा ठूलै जवाफ हो। यसको रक्षा गर्ने क्रममा मैले रामचन्द्रजीको बारेमा मैले के चाँही भन्न चाहन्छु भने जतिबेला हामी शेरबहादुर देउवाजीको बुढानीलकण्ठको घरमा पटक पटक बैठक बस्ने गथ्र्यौं, के गर्ने, कसरी जाने भन्ने हुन्थ्यो, त्यतिबेला यो नयाँ गठबन्धनको वैचारिक आधार के? राजनीतिक आधार के? त्यतिकै सत्ताको लागि र कुर्सीको लागि मात्रै गठबन्धन भयो भने त्यो गठबन्धन टिक्दा नि टिक्दैन।

त्यसले देश र जनतालाई केही दिँदा पनि दिँदैन भनेर हामी छलफल गथ्र्यौं। र हामीले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा संघीयता, समावेशी समानुपातिक मान्यताको रक्षा नै हाम्रो मिलनको आधार हो। र शान्ति सम्झौता, जसले नेपाललाई एउटा नयाँ कोर्समा ल्यायो। त्यसलाई सम्पूर्ण रूपमा निष्कर्षमा पुर्याउने, यिनै मान्यतालाई आधार बनाएर हामीले गठबन्धन गरेको हो। र त्यसको आवश्यकता र औचित्य छ मात्रै होइन, अहिले झनै बढेको छ। त्यसकारण मैले हिजो नेपालको नयाँ यात्रा सुरु भयो भनेर भनेको छु, यो यात्रा सफल हुन्छ, हुनुपर्छ। सबैले सफल पार्नुपार्छ।

प्रकाशित: १३ फागुन २०७९ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =