२५ गतेसम्म पुस १० गतेकै सहमतिअनुसार अघि बढ्ने एमाले निर्णय

हिमाल प्रेस १३ फागुन २०७९ १२:२७
4
SHARES
२५ गतेसम्म पुस १० गतेकै सहमतिअनुसार अघि बढ्ने एमाले निर्णय फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमाले राष्ट्रपतिको निर्वाचनसम्म पुस १० गतेकै सहमतिअनुसार अघि बढ्ने भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।

२५ गते राष्ट्रपति चयनको मिति भएकाले त्यो बेलासम्म पुस १० गतेकै सहमतिअनुसार अगाडि बढ्ने निर्णय भएको एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सञ्चारकर्मीलाई बताए। उनले भने, ‘अहिले राष्ट्रपतिको विषय भएको हुनाले सरकारमा बस्ने कि हट्ने भन्ने विषय नै भएन।’

पुस १० गते सत्तारुढ दलहरुबीच भएको सहमतिअनुसार एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिएको गुरुङले जानकारी दिए।

बैठकले आफ्नो उम्मेदवारलाई सहयोग र समर्थन गर्नका लागि कांग्रेसबाहेक सबै राजनीतिक पार्टीहरुलाई पनि पत्राचार गर्ने निर्णय गरेको छ। कांग्रेसको आफ्नै उम्मेदवार भएकाले सहयोगका लागि पत्राचार नगर्ने एमालेको निर्णयमा उल्लेख छ।

सत्तारुढ दलहरुबीच गत पुस १० गते एमालेका तर्फबाट राष्ट्रपति बनाउने सहमति भएको थियो। सोही सहमतिको जगमा आफूहरुले राष्ट्रपतिको उम्मेदवार तय गरेको प्रचार विभाग प्रमुख गुरुङले स्पष्ट पारेका छन्।

उनले भने, ‘बैठकले राष्ट्रपतिको उम्मेदवारमा पुस १० गते गठबन्धनको विषयमा भएको सहमती अनुसार नेकपा एमालेको तर्फबाट आफनो राष्ट्रपतिको उम्मेदवारमा सर्वसम्मत रुपले हाम्रो पार्टीका उपाध्यक्ष, पूर्वसभामुख, संविधानसभाका अध्यक्ष माननीय सुवास नेम्वाङलाई बनाउने निर्णय गरेका छौँ। उहाँलाई समर्थन गर्नका लागि नेपाली काँग्रेसको आफ्नै उम्मेदवार भएको हुनाले नेपाली कांग्रेसबाहेक अरु सम्पूर्ण पार्टीहरुलाई आजै सहयोगका लागि हामीले पत्राचार गर्नेछ।’

प्रकाशित: १३ फागुन २०७९ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =