आठदलीय गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको एमालेको प्रतिक्रिया

हिमाल प्रेस १२ फागुन २०७९ २०:२९
14
SHARES
आठदलीय गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको एमालेको प्रतिक्रिया नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली।

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार गठन भएको आठदलीय गठबन्धनले मुलुकलाई थप अस्थिरतातर्फ धकेलेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा नयाँ गठबन्धन बनेको निर्णय सुनेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘यसले राजनीतिमा विश्वसनियता, वचनबद्धता नहेरी जसले जे गरे पनि हुने भन्ने अवस्था देखियो। यहाँ धेरै राजनीति भयो। अब मुलुक अस्थिरतातर्फ जाने देखियो,’ ज्ञवालीले हिमाल प्रेससँग भने।

नयाँ गठबन्धन निर्माण हुनुमा भूराजनीतिक चलखलेलले पनि काम गरेको उनको जिकिर छ। ‘नयाँ गठबन्धन बन्नुले राजनीति भनेको भागबण्डा मात्रै हो, यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ,’ ज्ञवालीले भने।

पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनियता कमजोर बनेको उनको टिप्पणी छ।

‘कतिपय नेताको विश्वासनियतामाथि प्रश्न उठेको छ। यसले राजनीतिमा वितृष्ण जगाउने कार्यलाई मद्दत पुग्छ,’ उनले भने। प्रचण्डले गठबन्धन बदल्ने निर्णय गर्नुलाई बाह्यशक्तिको दबाबका रूपमा समेत बुझ्नुपर्ने उनको तर्क छ।

‘जस्तो भूराजनीतिक दबाबबारे चर्चा भइरहेको थियो। अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामर्थ्यमाथि प्रश्न उठेको छ,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उनले भने।

प्रकाशित: १२ फागुन २०७९ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =