हौसियो एकीकृत समाजवादी

हिमाल प्रेस १२ फागुन २०७९ १५:०६
106
SHARES
हौसियो एकीकृत समाजवादी

काठमाडौँ– नेपाली राजनीतिमा नेकपा एकीकृत समाजवादी सबैभन्दा बढी उत्साहित छ। दुई ठूला राजनीतिक दल (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) बाट राष्ट्रपति/प्रधानमन्त्रीका लागि प्रस्ताव आएपछि शक्तिशाली देखिएको भ्रममा परी समाजवादीका नेताहरू उत्साहित बनेका हुन्।

समाजवादीका नेताको दौडधुप बढेको छ। उनीहरू साँझ बिहान कहिले देउवा निवास धुम्बाराही त कहिले प्रधानमन्त्री निवास बालुवाटारमा देखिँदै आएका छन्। एकीकृत समाजवादीका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि विभिन्न माध्यमबाट भेटवार्ता गरिरहेका छन्।

संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० सिटमा सीमित भएपछि किनारा लागेको अनुभव गरिरहेका बेला मुख्य पदमै प्रस्ताव आएपछि हौसला बढ्नु स्वाभाविकै रहेको नेताहरू बताउँछन्। ‘हिजोभन्दा आज हामीलाई हेर्ने नजर बढेको छ। दलहरूले महत्त्वपूर्ण पदमा प्रस्ताव गर्नु सामान्य कुरा होइन,’ नेता विरोध खतिवडा भन्छन्।

राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले नेपालको नाम प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पुर्‍याएका थिए। एमाले-माओवादी नेपाललाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन्। यद्यपि दलहरूबीच विभिन्न विकल्पमा छलफल जारी छ। फागुन २५ गतेका लागि तोकिएको निर्वाचनका लागि शनिबार मनोनयन हुँदैछ।

केही दिनअघि बालुवाटारमा सम्पन्न प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा नेपाललाई एक वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो। पछिल्ला बैठकमा नेताहरूले माधव नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्दै आएका छन्।

समाजवादीका नेताहरूले अन्य दलसँगको भेटवार्तामा राष्ट्रपति वा प्रधानमन्त्री आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन्। राष्ट्रपतिमा सर्वसम्मत हुँदा अध्यक्ष नेपाल मुख्य पात्र रहेको समाजवादीका नेताहरूको बुझाइ छ। ‘राष्ट्रपतिमा सर्वसम्मत प्रयत्न हुँदा अध्यक्षज्यू उपयुक्त पात्र हो’, खतिवडा भन्छन्।

पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्ने बेलासम्म राष्ट्रपतिमा समाजवादीले पाउने धेरैको आकलन थियो। त्यसमा अध्यक्ष नेपालभन्दा सम्मानित खनाल बढी लबिङमा थिए। तर माओवादीबाट प्रधानमन्त्री तथा एमालेको भागमा सभामुख र राष्ट्रपति राख्ने सहमतिपछि नेपाल-खनालको नाम हरायो। सत्ता गठबन्धनभित्र सम्बन्ध चिसिँदै गएपछि माले अध्यक्ष ओलीले राष्ट्रपतमिा नेपालको नाम प्रस्ताव गरेका हुन्।

शनिबार भएको भेटमा पार्टी एक बनेमा राष्ट्रपतिमा समर्थन गर्न सकिने प्रस्ताव ओलीले गरेका थिए। एकअर्काबीच पानी बाराबारको अवस्थामा रहेका नेपाल-ओलीबीच भेट हुनु र ओलीले नै नेपाललाई राष्ट्रपति प्रस्ताव गर्नु अनौठो रहेको एकीकृत समाजवादीका नेताहरू बताउँछन्।

ओलीले कांग्रेसमा राष्ट्रपति नजाओस् भन्नका लागि नयाँ तुरुप फ्याँकेको बुझिएको छ। ‘हामीले मागेको होइन। उहाँहरूले नै प्रस्ताव गर्नुभएको हो,’ समाजवादी उपमहासचिव प्रकाश ज्वाला भन्छन्, ‘राष्ट्रपति को बन्ने भन्ने विषय टुंगिएको छैन। तर प्रस्ताव हामीलाई आइरहेकै छ।’

समाजवादीले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नपाउन पनि सक्छ। ठूला दलले आफूनिकट नेता राष्ट्रपति बन्न नसकेपछि ‘च्याँखे दाउ’ मात्र हालेका बुझाइ नेताहरूको छ।

सन्नाटा र आरोपप्रत्यारोपछि बढेको चहलपहल

प्रतिनिधिसभा निर्वाचनपछि एकीकृत समाजवादीमा सन्नाटा छायो। चुनावमा लज्जास्पद हार व्यहोरेपछि सार्वजनिक रूपमा पार्टीमा आरोपप्रत्यारोपसमेत सुरु भयो।  तत्कालीन पाँच दलीय गठबन्धनमा रहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई मत नहालेको भन्दै चर्को आलोचना गरे।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनमा फाइदा ठूला दललाई मात्र परेको अनुमान समाजवादीको थियो। ‘विशेषगरी कांग्रेसबाट मत ट्रान्सफर भएन,’ समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भनेका थिए, ‘हाम्रो मत उता गयो। तर उताबाट आउँदै आएन।’

गठबन्धनबाट कम सिट पाएको भन्दै गुनासो छँदै थियो। तत्कालीन गठबन्धनबाट ३० सिट लिने दाउमा रहेको समाजवादीले १८ ठाउँमा मात्र चुनाव लड्न पायो। ‘हाम्रो पार्टीबाट बैठकमा जाने नेता कमजोर ठहरिए। म नै गएको भए पनि अलि बढी सिट हाम्रो आउँथ्यो,’ सचिव रामकुमारी झाँक्रीले एक अन्तर्वार्तामा भनेकी थिइन्। पार्टी बैठकमा यो विषय यतिमा मात्रै रहेन।

प्रत्यक्षमा अरू पार्टीबाट मत नआएको र समानुपातिकमा आफ्नै नेताले मत नहालेको कुरा उठ्यो। पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबाहेक अन्य नेताहरू चुनावमा खट्दै नखटेको आरोप लाग्यो।

‘नेता समाजवादीका भएर मात्र के गर्नु? समानुपातिकमा घण्टी (स्वतन्त्र पार्टीको चुनाव चिह्न) भन्दै हिँडेपछि,’ समाजवादीका एक नेताले भनेका थिए, ‘यही कारण पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाएन।’
प्रत्यक्ष १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिक मत गुमाउनुपर्‍यो। पार्टीभित्र समीक्षा गरेर अघि बढ्दै गर्दा समाजवादीमा अर्को समस्या आइलाग्यो, जुन समस्या गठबन्धन परिवर्तन थियो।
पार्टी स्थापनाबाटै नेकपा माओवादी केन्द्रसँग नजिक रहेको समाजवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि भने किनारा लाग्यो।

समाजवादी-माओवादी एकता गर्ने सम्म कुरा चलिरहेका बेला प्रचण्ड एमालेसँग नजिकिए। एमालेसँग एकै ठाउँमा बस्न नसक्ने देखेपछि विभाजन गरेर अर्को पार्टी बनाएका समाजवादीका नेताहरू अलमलमा परे। एमालेसँग समाजवादीको बिग्रिएको सम्बन्ध र प्रचण्ड नेतृत्वको सरकारको आदेशकर्ता एमाले नै भएपछि अध्यक्ष माधवकुमार नेपाल अप्ठ्यारोमा परे।

समाजवादीका शीर्ष नेताले प्रचण्डको तीव्र आलोचना गरे। यता समाजवादीकै दोस्रो स्तरका नेता भने आफ्नै नेतामाथि खनिन थाले। पार्टी अध्यक्ष माधवकुमार नेपालले रणनीति चाल्न नसकेको सचिव रामकुमारी झाँक्रीको आक्रोश थियो।

झाँक्रीले एमाले अध्यक्ष केपी शर्माको भने प्रशंसा गरिन्। झाँक्रीले भनेकी थिइन्, ‘नेता भनेको यस्तो हुनुपर्छ। केपी कमरेडले आफू साबित गर्नुभयो। केपी कमरेडको जस्तो हाम्रो अध्यक्षको दिमाग भएको भए बीचमा परिन्थ्यो र?’

झाँक्रीको यो विषय पार्टी बैठकमा पनि प्रवेश गर्‍यो। सार्वजनिक रूपमा नेतृत्वको आलोचना नगर्न अध्यक्ष नेपालले निर्देशन दिए। पार्टीभित्र विवाद बढिरह्यो। कहिले पार्टी प्रवेशले विवाद त कहिले नेतृत्वको कार्यशैलीले। विवाद र असन्तुष्टिका बीच समाजवादीले प्रचण्डलाई विश्वासको मत भने दियो।

समाजवादीमा विश्वासको मत दिने वातावरण बनाउन पनि ‘महाभारत’ परेको थियो। पार्टी पदाधिकारी, सचिवालयदेखि स्थायी कमिटीमा पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने विवाद भएपछि यसको ‘निर्णय गर्ने अधिकार अध्यक्षलाई’ भनेर गाँठो फुकाइयो।

सामान्य कुरामा पनि सचिवालय तथा पदाधिकारी बैठकले निर्णय गर्नुपर्ने बाध्यताले समाजवादी जेलिएको थियो। अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथबीचको वैमनस्यका कारण पटकपटक बैठक पनि बसेको छ। समाजवादी बैठक बस्ने तर कुनै निर्णय गर्न नसक्ने कठिन अवस्थाबाट गुज्रिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =