अवकाशपछिको जीवन : कुखुरा र कालिजपालन

हिमाल प्रेस १२ फागुन २०७९ १०:१७
62
SHARES
अवकाशपछिको जीवन : कुखुरा र कालिजपालन

पाल्पा- हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका छन्, तुलबहादुर थापा। रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उनलाई व्यस्तताको अनुभूति छैन।

पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत वृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका हुन्। कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो।

भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुर्ख्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थालेका हुन्। उनले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताए। थापाले करिब ९ महिनाअघि उक्त व्यवसाय थालेका हुन्।

गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बारबन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उनी हिजोआज व्यवसायमा व्यस्त छन्। स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गरेका थापाले करिब ९ महिनामा राम्रै आम्दानी गरेका छन्।

हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले आठ सय, पोथी सात सय र कालिज एउटाको दुई हजार पाँच सय रूपैयाँमा बिक्री भइरहेको छ। बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ।

थापाले कालिजका लागि भिरालो रुख, बिरुवासहितको चारैतिर तारजालीले घेरिएको खुला संरचना तयार पारेका छन्। यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो परेपछि छिटो बिक्री गर्न लायकको हुने उनी बताउँछन्।

महँगो भए पनि हिजोआज कालिजमा धेरैको आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापाले बताए।

‘स्थानीय उत्पादनमा फरक स्वाद पाइने र स्वास्थ्यका लागि राम्रो हुने भएकाले हिजोआज स्थानीय कुखुरा, कालिज खरिद गर्ने धेरै छन्, व्यावसायिक फार्म कम छन्, गाउँको जग्गाको सदुपयोग, व्यवसायबाट आम्दानी हुने, समय बिताउने माध्यम गज्जब लागिरहेछ,’ उनले भने।

यस व्यवसायसँगै सौखका रूपमा खरायो, लौकाट पनि पालेका छन्। फार्ममा हाल ९ वटा ठूला र १० साना खरायो र ६ वटा बाख्रा छन्। समथर भागदेखि माथिल्लो बस्ती हावापानी उपयुक्त हुने भएकाले गाउँमै व्यावसायिकरूपमा कुखुरा र कालिजपालनमा लागेको थापाले बताए। कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट धेरै कमाउन सकिने उनको अनुभव छ। अब कालिजलाई थप गरेर यस क्षेत्रलाई कालिज हबका रूपमा विस्तार गर्ने उनको योजना छ। -सुशीला रेग्मी/रासस

प्रकाशित: १२ फागुन २०७९ १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =