एनसीसी तालिमको दीक्षान्त कवाज सम्पन्‍न, प्रधानमन्त्री र सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस ११ फागुन २०७९ २२:१३
24
SHARES
एनसीसी तालिमको दीक्षान्त कवाज सम्पन्‍न, प्रधानमन्त्री र सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ– राष्ट्रिय सेवा दलद्वारा संचालित सिसं.१७ सिनियर डिभिजन नेशनल क्याडेट क्रप्स (एनसीसी) तालिमको दीक्षान्त कवाज बिहीबार सम्पन्न भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सैनिक मञ्‍च टुँडिखेलमा तालिम सम्पन्न भएको हो। समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका ५७६ जना क्याडेट छात्रछात्राहरू दिक्षित भएका छन्।

सो अवसरमा क्याडेट छात्रछात्राहरूलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकवान, क्षमतावान र देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित स्थापित राष्ट्रिय सेवा दल तालिम सफलतापूर्वक सम्पन्न गरेका छात्रछात्राहरूलाई बधाई दिए।

जननि जन्मभूमिश्च स्वर्गाद्वपी गरीयसी उक्तिलाई आत्मसात गर्दै चन्द्र र सूर्यअंकित झण्डाप्रति गर्व गर्दै सदैव अनुशासित रहन सक्ने युवाहरूको खाँचो राष्ट्रलाई रहेको औंल्याउँदै यस तालिमले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने उनले विश्वास व्यक्त गरे।

उक्त अवसरमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्की(अ.प्रा.)ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरे।

रक्षामन्त्री हरि उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, जनप्रतिनिधिहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरू, सम्बन्धित विद्यालयका प्रधान अध्यापक तथा अभिभावकहरू, संचारकर्मीलगायतको उपस्थिति रहेको समारोहमा सिनियर डिभिजन तालिम सम्पन्न गरेका २७० छात्र र ३०६ छात्राहरू दिक्षित भए।

उक्त अवसरमा मित्रराष्ट्रहरूका सैनिक सहचारीहरूका साथै युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन आएका भारत, माल्दिभ्स र पाकिस्तानका एनसीसी स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरूको समेत उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्री दाहालले सर्वोत्कृष्ट क्याडेटलाई पुरस्कार वितरण गरे। ०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलमा प्रधानमन्त्री संरक्षक एवम् रक्षामन्त्री तथा प्रधान सेनापति सह संरक्षक रहने व्यवस्था छ।

०७५ सालदेखि देशभर विस्तारित राष्ट्रिय सेवा दल कार्यक्रम अन्तर्गत हालसम्म सिनियर डिभिजनतर्फ १०,८५९ जना र जुनियर डिभिजनतर्फ ५५,९१७ जना गरी जम्मा ६६,७७६ जनाले तालिम सम्पन्न गरेका छन्।

बिहीबारको समारोहमा राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री तथा सह संरक्षकद्वय रक्षामन्त्री एवम् प्रधान सेनापतिले दीक्षित क्याडेटहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे।

प्रकाशित: ११ फागुन २०७९ २२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =