संविधान र लोकतन्त्र रक्षाका लागि तेस्रो पुस्ता पनि तयार हुनुपर्छ : रामवरण यादव

हिमाल प्रेस ११ फागुन २०७९ २०:०५
72
SHARES
संविधान र लोकतन्त्र रक्षाका लागि तेस्रो पुस्ता पनि तयार हुनुपर्छ : रामवरण यादव

जनकपुरधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको रक्षाका लागि साहित्यले निरन्तर पहलकदमी  लिनुपर्ने बताएका छन्।

जनकपुरधाममा बिहिबारदेखि सुरु भएको ३ दिवसीय जनकपुर साहित्य महोत्सवको पहिलो दिन प्रमुख अतिथिको आसनबाट बोल्दै यादवले यस्तो बताएका हुन्।

७ दशक लामो संघर्षपछि ल्याइएको अहिलेको संविधानमाथिको खतरा नटरेको भन्दै सञ्‍चारकर्मी, साहित्यकार तथा अभियानीहरूले यसको रक्षाका लागि निरन्तर आवाज उठाइरहनु पर्ने बताए।

‘अमेरिकामा रहेको २ सय ४० वर्ष पुरानो लोकतन्त्रमाथिको कालो बादल अहिलेसम्म लागेको छैन, हामीले लामो संघर्षपछि ल्याएको संघीय गणतन्त्रात्मक व्यवस्था सहितको लोकतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ त्यसको रक्षाका लागि तेस्रो पुस्तासमेत तयार हुनुपर्छ,’ उनले भने।

पछिल्लो समय संविधानको घाँटी निमोठ्ने काम हुँदा नेपाली जनताले आवाज उठाएकै कारण संविधानको रक्षा भएको पूर्वराष्ट्रपति यादवको भनाइ छ।

उनले साहित्यमाथि चर्चा भइरहँदा यहाँको भाषा तथा संस्कृतिको रक्षाका लागि मात्रै नभई जनकपुरधामको पहिचान रहेको मठमन्दिर तथा पोखरी संरक्षणका लागिसमेत आवाज उठाउनुपर्नेमा जोड दिए।

साहित्य महोत्सवको प्रमुख अतिथिको आसनबाट पूर्वराष्ट्रपति यादव बोल्दै गर्दा पर्यावरण र जनकपुरधामको खस्कदै गईरहेको शिक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरे।

‘कुनै समय ज्ञानभूमिको रूपमा परिचित रहेको जनकपुरधामको पावनभूमि अहिले ज्ञानको ज्योतिबाट टाढा हुँदै गईरहेको देख्दा बडो दुःख लाग्छ,’ उनले भने।

यस्ता साहित्यिक महोत्सवकै माध्यमले यहाँका तेस्रो पुस्तामा ज्ञानको ज्योति फैलाउन उनले आग्रह गरे।

‘अहिले चुरेको अनियन्त्रित दोहन भइरहेको छ। चुरिया भएर राजमार्ग बनिरहेको छ। माटो दोहन भइरहेको छ,’ उनले भने, ‘यसलाई कसले बचाउने ? यो देशमा भएका तीनै तहको सरकारको जिम्मेवारी होइन र?,’ उनले भने।

यस्तै स्थिति रहिरह्यो भने हिमालको कवचको रूपमा रहेको मधेश मरुभूमिमा परिणत हुन्छ। त्यसैले चुरे संरक्षणका लागि समेत पहल गर्नु आवश्यक छ।

प्रकाशित: ११ फागुन २०७९ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =