टेकुमा कम्पोष्ट मल बनाउन सुरु, बञ्चरेडाँडामा तयारी

हिमाल प्रेस ११ फागुन २०७९ १९:३२
10
SHARES
टेकुमा कम्पोष्ट मल बनाउन सुरु, बञ्चरेडाँडामा तयारी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा कम्पोष्ट मल बनाउन सुरु गरेको छ। बिहीबार परीक्षणका रूपमा टेकुमा कम्पोष्ट मल बनाउन सुरु गरिएको हो। उपत्यकाको अन्य स्थानमा पनि कम्पोष्ट मल बनाउने तयारी रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ।

आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि मल बनाउन सुरु गर्ने महानगरपालिकाले बताएको छ। बञ्चरेडाँडा काठमाडौँ महानगरसहित उपत्यकाका विभिन्न स्थानीय तहको अन्तिम फोहोर विसर्जन स्थान हो। महानगरको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले टेकुमा बिहीबार १२ टन कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन थालिएको बताए।

कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ। यसअघि महानगरपालिकाले उपत्यकामा उत्पादन हुने कुहिने फोहोर काठमाडौँभित्रै व्यवस्थापन गर्न ठाउँ खोजेको थियो। काठमाडौँभित्रै मल व्यवस्थापन गरी त्यसबाट मल उद्योग चलाउने योजना महानगरको थियो।

तर एकै स्थानमा पर्याप्त जमीन उपलब्ध नभएपछि थोरै उपलब्ध ठाउँमै मल बनाउन सुरु गरेको छ। ‘सबै फोहोर एकै स्थानमा जम्मा गर्ने र महानगरको केन्द्रीय कार्यालयले मात्रै यसको व्यवस्थापन गर्ने योजना भए पनि सफल भएन’ उनले भने, ‘सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहोरको जिम्मा लिएर कम्पोष्ट मल बनाउन थालेमा त्यसका लागि लागि आवश्यक सहयोग गर्न वातावरण विभाग तयार छ।’

उनका अनुसार महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोष्ट मल बनाउने तयारी गरिरहेको छ। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर स्रोतमा नै वर्गीकरण गरेर बञ्चरेडाँडा लैजानुपर्नेछ। त्यसका लागि कामपाले फोहोर वर्गीकरणको प्रक्रिया कडाइका साथ कार्यान्वयन गर्ने उनको भनाइ छ।

महानगरको आग्रह अनुसार सर्वसाधारणले सहयोग गरेमा आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि फोहोरबाट मल बनाउने काम थालिने उनको भनाइ छ। साथै महानगरले ३२ वटै वडा र नागरिकलाई पनि मल उत्पादन गर्न प्रोत्साहन गर्ने तयारी गरेको छ।

त्यसका लागि मल उत्पादन गर्ने भाँडो सहुलियत दरमा महानगरले नागरिकलाई वितरण गरिरहेको छ। महानगरले गत साउन १ गतेदेखि स्रोतमा नै फोहोर वर्गीकरण गर्न अनुरोध गरे पनि केही वडामा मात्रै फोहोर वर्गीकरण गरिन्छ। केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौँको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न खोज्दा केही समय सहयोग पाएका थिएनन्। बञ्चरेडाँडाका स्थानीय तथा विभिन्न राजनीतिक दलका भातृसंगठनबाट सहयोग नपाएका बालेन अनन्तः काठमाडौँको टेकुमा कम्पोष्ट मल उत्पादन सुरु गर्न सफल भएका छन्। राससको सहयोगमा

प्रकाशित: ११ फागुन २०७९ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =