लुम्बिनी कोषाध्यक्षको सक्रियतापछि साटिने भए थन्किएका विदेशी मुद्रा

विनोद परियार ११ फागुन २०७९ १९:३०
16
SHARES
लुम्बिनी कोषाध्यक्षको सक्रियतापछि साटिने भए थन्किएका विदेशी मुद्रा

लुम्बिनी– लुम्बिनीमा विदेशी पर्यटकबाट दानबापत संकलित विदेशी मुद्रा सटही हुने भएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रूपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानकर्षण पत्र बुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो।

नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानबापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन।

राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमति दिएसँगै आर्थिक वर्ष ०७१/०७२ देखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटही प्रक्रियामा गएको हो।

विभिन्न मुलुकबाट लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको भेटी रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरूको पटक पटकको अनुरोधपछि सटही हुने अवस्थामा आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।

‘राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी रूपन्देही आएको बेला भेटीबापतको रकम सटही नभएको कुरा राखेका थियौं, ध्यानआर्कषण पत्र पनि बुझायौं, राष्ट्र बैंकले सटही गर्ने सैद्धान्तिक सहमति भएको छ,’ कोषाध्यक्ष भट्टराईले भने।

कोषले संकलित विभिन्न ३९ देशका विदेशी मुद्रा सटहीका लागि १ हप्ताभित्रमा राष्ट्र बैंक पठाउने उनले बताए।

लुम्बिनीमा भेटी र दानबापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको छ। यस्तै, श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेवनान, पेरु, युगान्डालगातका मुलुकको मुद्रा छ।

परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भए पनि अब आफूहरूले सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले जानकारी दिए।

कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुरस्थित ऐजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने बताए। उनका अनुसार यो रकम सटही भएपछि ३ देखि ४ महिनाको अवधिमा लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ।

राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नपठाउन कोषलाई सुझाव दिएको छ।

लुम्बिनीमा भेटीबापत संकलित विदेशी मुद्रा सटही नहुँदा कागज बराबर भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचारसमेत प्रकाशित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =