स्वास्थ्यमन्त्री गिरी र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

हिमाल प्रेस ११ फागुन २०७९ १२:१२
4
SHARES
स्वास्थ्यमन्त्री गिरी र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

काठमाडौँ- बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्यान्ड पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच डब्ल्यूएचओको कार्यालयमा भेटवार्ता भएको छ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको लागि धन्यवाद दिए। विशेष गरी पोलियोलगायत खोप, विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले महानिर्देशक डा टेड्रोसप्रति आभार प्रकट गरे।

भेटमा गोर्खा भूकम्प, हैजाको प्रकोप, कोभिडविरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाको लागिसमेत मन्त्री गिरीले उनप्रति धन्यवाद व्यक्त गरे।

मन्त्री गिरीले नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जैविक औषधिको प्रतिरक्षा प्रणालीलगायत हाल भइरहेका गतिविधि विस्तार र आपसी सहकार्य समन्वयलगायतका विषयमा आफ्नो धारणा सो अवसरमा राखे।

विश्व स्वास्थ्य संगठनले समन्वय सेन्टर निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वन गर्न मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका विषयमा पनि भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए।

प्रकाशित: ११ फागुन २०७९ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =