बञ्चरेडाँडामा माटो अभाव, फोहोर ‘क्यापिङ’ नहुँदा स्थानीयलाई सास्ती

हिमाल प्रेस १० फागुन २०७९ २१:४३
12
SHARES
बञ्चरेडाँडामा माटो अभाव, फोहोर ‘क्यापिङ’ नहुँदा स्थानीयलाई सास्ती

काठमाडौँ- काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा ‘क्यापिङ’ (फोहोर छोप्ने काम) का लागि माटो पाउनै कठिन भएको छ। काठमाडौँ उपत्यकाको फोहोर विसर्जन हुँदै आएको स्थान थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ। फोहोर खुला छोड्न नहुने भएकाले प्रत्येक दिन छोप्नुपर्छ। तर फोहोर छोप्न माटोको भने अभाव भएको छ।

माटो व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले तोकेको स्थानबाट ल्याउँदा स्थानीय वन उपभोक्ता समितिले अवरोध गरेको छ। कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार बञ्चरेडाँडामा राखिएको फोहोर व्यवस्थापन गर्न दैनिक ५० टन माटो आवश्यक पर्छ। ‘दैनिकरूपमा नै माटो धेरै आवश्यक पर्छ हाल व्यवस्थापनका लागि माटो ल्याउने स्थान अलि टाढा छ’ उनले भने।

फोहोर राखिएको स्थानबाटै माटो निकाल्न पनि अप्ठ्यारो रहेको प्रवक्ता मानन्धरको भनाइ छ। प्रत्येक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। जसमा सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ। निजीक्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर ओसार्ने गरेका छन्।

उपत्यकाको फोहोर दैनिकरूपमा उक्त स्थानमा पुग्छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको हो। विगत सात महिनादेखि ‘सेल वान’मा मात्रै फोहोर व्यवस्थापनको काम हुँदा लेवल मिलाउन समस्या भएको भन्दै कामपाले ‘सेल टु’मा पनि फोहोर व्यवस्थापनको लागि सहज गरिदिन सहरी विकास मन्त्रालयसँग आग्रह गरिएको महानगरले बताएको छ। ‘सेल वान’मा फोहोरको थुप्रो बढी भइसकेकाले ‘सेल टु’ पनि प्रयोगमा ल्याउन सके फोहोर व्यवस्थापनमा सहज हुने कामपाको भनाइ छ। अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा ‘सेल वान’मा मात्रै फोहोर व्यवस्थापन गर्नुपर्दा लिचड व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता मानन्धरले बताए।

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहोर वर्गीकरण गरी ल्याइन्छ। केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ। ‘कुहिने फोहोर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ’ उनले भने, ‘त्यसबारे कामपाले केन्द्र सरकारसँग छलफल गरिरहेको छ।’
स्थान प्राप्त भएपछि स्रोतमा नै फोहोर वर्गीकरण गरिने महानगरको भनाइ छ। रासस

प्रकाशित: १० फागुन २०७९ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =