माधव नेपालमाथि ओलीका ती कटु वचन

हिमाल प्रेस १० फागुन २०७९ १८:२८
98
SHARES
माधव नेपालमाथि ओलीका ती कटु वचन

काठमाडौँ- राष्ट्रपति निर्वाचन मिति नजिकिँदै गर्दा दलहरूबीच कसलाई अघि सार्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। यसै क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको विषयमा धेरैको चासो छ।

तीन दशकभन्दा बढी एउटै दलमा रहेका यी नेताबीच २०७७ को अन्त्यदेखि तीव्र मनमुटाव हुन थालेको हो। दुई नेताबीचको तिक्तता बढ्दै जाँदा एमाले चोइटिएर नेकपा एकीकृत समाजवादीको जन्म भयो। २०७८ भदौमा पार्टी विभाजनपछि माधव नेपालसँग निकै तल्लो स्तरमा उत्रिएका एमाले अध्यक्ष ओली चुनावपछि भने केही नरम देखिन थालेका हुन्।

पछिल्ला दिनमा ओली र नेपालबीच पटकपटक छलफल भएको बताइए पनि दुवै नेताले यसबारे आधिकारिक जानकारी भने सार्वजनिक गरेका छैनन्। अध्यक्ष नेपालले मंगलबार दाङमा आयोजित एक कार्यक्रममा भने, ‘प्रेसमा आएका कुरा सबै सत्य हुन्छन् भन्ने छैन। विभिन्न पक्षले केके अनुमान गर्छन् सुनौँ। अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन। पर्दाभित्र रहन दिनुपर्छ, पर्दाभित्र रहोस्।’ अध्यक्ष नेपालले शक्ति बाँडफाँटमा आफ्नो पार्टीको भूमिका हुनुपर्नेमा भने जोड दिए। यद्यपि उनले राष्ट्रपतिको उम्मेदवारबारे खुलेर केही बताएका छैनन्।

दलहरूले राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा भएको सहमतिअनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने दाबी एमालेको छ।

माओवादी भने राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने पक्षमा देखिएको छ। यता प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेस पनि राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडानमा छ।

ओली र नेपाल नजिक हुन थालेपछि विगतमा नेपालविरुद्ध ओलीले सार्वजनिक रूपमा व्यक्त गरेका अमर्यादित टिप्पणीहरूको चर्चा हुन थालेको छ। राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने गरिन्छ। तर ओली दुई तिहाइ नेतृत्वको सरकारबाट बाहिरिनु परेपछि त्यसको सबै दोष नेपालमाथि लगाएर तल्लो स्तरको अभिव्यक्ति दिएका थिए।

एमालेमा सँगै रहँदा पनि अलगअलग कित्तामा उभिएका ओली र नेपालबीचको अन्तरसघंर्ष कायम थियो। ओलीले संसद् विघटन गरिदिएपछि विवाद चुलिएको थियो। ओलीको उक्त कदमलाई नेपालले प्रतिगमनको संज्ञा दिएका थिए। त्यसपछि ओली नेपालप्रति आक्रामक रूपमा प्रस्तुत हुन थालेका हुन्।

पार्टी अध्यक्ष ओलीले ‘अपमान गरेको’ आरोप लगाउँदै नेपालले २०७८ भदौमा नेकपा (एकीकृत समाजवादी)दल दर्ता गराएपछि नेपालप्रति ओलीले अनेक आरोप पनि लगाएका थिए। यस्ता छन् नेपालविरुद्ध ओलीले गरेका केही अमर्यादित टिप्पणी :

माधव नेपाल शेरबहादुरको कार्यकर्ता, प्रचण्डको पुच्छर

प्रधानमन्त्री छँदै ओलीले तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुच्छर भएको टिप्पणी गरेका थिए।

२०७८ असार १४ मा ७० औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए, ‘यिनी (माधव नेपाल) एक ढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन्। जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ। फर्किन्छ। पछाडिपछाडि सँगै हुन्छ क्या त्यो। उनी यता जाऊँ भने भने पछिपछि त्यतै लाग्छ। कांग्रेसतिर जाऊँ भनेपछि त्यतै पछिपछि लाग्छ।’

यस्तै उनले नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेका रूपमा हुने टिप्पणी गरेका थिए। ओलीले भनेका थिए, ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिँड्ने। यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि। गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ।’

उनले भनेका थिए, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसका पछाडि कुद्ने मान्छे छन्। अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः किनभने असाध्यै चर्चा भइरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ।’

नेता नेपाल पक्षका २८ सांसद वैशाख २७ मा ओलीले संसद्‍मा विश्वासको मत लिँदा अनुपस्थित भएका थिए। पछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। सोही कारण आक्रोशित ओलीले भनेका थिए, ‘दलीय अनुशासन प्रणाली, संसदीय अनुशासन प्रणालीबेगरका काम भएका छन्। तिनले खाएको शपथ झुटो हो र बेइमानी हो। उनीहरूले खाएको शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ।’

विषवृक्षलाई अझै सम्मान?

२०७८ साउन ४ मा केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘विषवृक्ष’को संज्ञा दिएका थिए। उनले भनेका थिए, ‘पार्टीमा उहाँ (माधव नेपाल) लाई सम्मान भएन रे। विषवृक्षलाई अझै सम्मान?’

हाम्रा घरका बिराला देउवाका भान्सामा

२०७८ भदौ १९ मा राजधानीमा काठमाडौँ जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको भान्सा खान पुगेको बिरालोको संज्ञा दिएका थिए।

उनले भनेका थिए, ‘हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा देखिन्छन्। दूध र भात खान पाइन्छ भनेर म्याउँ गर्दै पुगेछन्। माधव नेपालको जिम्मा नै एमाले बदनाम गराउने हो। एमालेको चरित्र हत्या गर्नु हो।’

उनले माधव नेपाल जस्तो लाजसरम पचेको अर्को मान्छे नदेखेको पनि ओलीको कटाक्ष थियो। यस्तै ओलीले भनेका थिए, ‘कहिले सामन्ती राजाको वरिपरि दाम चढाएर परिक्रमा गरेको छ। कहिले पत्रमञ्जुषामा प्रधानमन्त्री हुन पाऊँ भन्ने निवेदन पनि पुर्‍याएको छ। मैले पार्टी चलाउन नसक्ने भएँ भनेर पार्टी छोडेर हिँडेको छ।’

२०७८ असोज १५ मा आयोजित पार्टीका विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पनि ओलीले नेपालको आलोचना गर्न बाँकी राखेनन्। ओलीले भने, ‘कम्युनिस्ट आन्दोलनलाई नै बदनाम बनाउन खोजियो। एमालेबाट केही व्यक्ति बाहिरिएका छन्। उनीहरूले संगठनात्मक अराजकता, फुट र पदलोलुपलाई स्थान दिएका छन्। एमालेविरुद्ध नयाँ घेराबन्दी सुरु गरिएको छ।’

कांग्रेसको औँला समातेर हिँड्न पल्केकाहरू!

२०७८ मंसिर ४ मा आयोजित कार्यक्रममा माधव नेपालप्रति कटाक्ष गर्दै ओलीले भनेका थिए, ‘कांग्रेसको औँला समातेर हिँड्न पल्केकाहरू हिँड्न खोज्छन्। तर कांग्रेसले कहिलेसम्म औँलो दिन्छ थाहा छैन।’

फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही हुनुपर्छ

२०७९ कात्तिक २ गते झापामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका थिए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन दिएकोप्रति आपत्ति जनाएका थिए।

महाभारतमा कौरवका सेनामेनाको आलोचना हुँदैन

२०७९ वैशाख २५ मा च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेसको सेनामेना भएको आरोप लगाएका थिए। उनले भने, ‘महाभारतको युद्धमा कौरवका पक्षमा कति सेना थिए? ती सबै सेनाको हिसाबकिताब र दुर्गुणबारे खासै चर्चा हुँदैन । कौरवका बारेमा चर्चा हुन्छ, दुर्योधनका बारेमा चर्चा हुँदैन। यहाँ पनि यस्तै भाको हो।’

२०७८ चैत ५ मा राजधानीमा आयोजित कार्यक्रममा माधव नेपालको जुँगा आफूले टाँसिदिएको बताए। उनले एकीकृत समाजवादी पार्टी नै नबन्ने पनि बताएका थिए। ओलीले भनेका थिए, ‘गठबन्धनमा भएको एउटा पार्टी छ। त्यो बन्दै बन्दैन। त्यो ध्वस्त हुन्छ। हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ।’

२०७९ वैशाख २० मा नेता नेपालको गृहजिल्ला रौतहट पुगेका ओलीले नेपालको नाम लिएपछि आफूले कुल्ला गर्ने गरेको बताएका थिए। उनले भने, ‘माधव नेपालको नाम लिएर एकछिनमा कुल्ला गर्छु। देशका कुलंगार, अन्तर्घाती, अन्तर्ध्वंसीहरू!’

यस्तै ओलीले वैशाखमै इलाममा आयोजित चुनावी सभामा सम्बोधन गर्दै एमाले छाडेका नेपाललाई ‘कुहिएको फल’को संज्ञा दिएका थिए। ओलीले भनेका थिए, ‘एक-दुईवटा पात झरेर गयो भन्दैमा न रूख नांगा हुनेछन्, न पार्टी रित्तिनेछ। एक/दुईवटा फल कुहिएर झर्दा रूखलाई केही असर हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =