राष्ट्रपति बन्ने आकांक्षामा महन्थ, शीर्षनेतासँग तीव्र लबिङ

हिमाल प्रेस १० फागुन २०७९ ८:१०
2
SHARE
राष्ट्रपति बन्ने आकांक्षामा महन्थ, शीर्षनेतासँग तीव्र लबिङ

काठमाडौँ- राष्ट्रपति बन्ने आकांक्षा बोकेर लोकतान्त्रिक समाजवादी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर तीव्र लबिङमा छन्। उनी आफैलाई राष्ट्रपतिको उम्मेदवार बनाउन आग्रह गर्दै ठूला दलका शीर्ष नेतालाई भेटिरहेका छन्। पछिल्लो समय महन्थको लबिङ बढेको हो।

मंगलबार (हिजो) मात्रै लोसपाका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको थियो। भेटमा लोसपा नेतृत्वले महन्थलाई राष्ट्रपति बनाउन आग्रह गरेको थियो। ‘हामीले प्रधानमन्त्रीलाई भेटेकै हो। हाम्रो प्रस्ताव राख्यौँ।’ लोसपाका एक नेताले भने।

भेटमा प्रधानमन्त्रीले पनि सोही कुरालाई सकारात्मक तवरले लिएको ती नेताको भनाइ छ। त्यसो त, सत्तारुढ गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार चयन नहुँदा आकांक्षी बढेका छन्। विशेषतः प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र विपक्षमा समेत अश्वासन दिएकाले राष्ट्रपतिको उम्मेदवार पेचिलो बन्दै गएको छ।

लोसापका नेताहरूले आज (बुधबार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्दैछन्। भेटमा राष्ट्रपतिको चुनाव र उम्मेदवारबारे छलफल हुने छ। सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि म‌ंगलबार कुराकानी भएको थियो।

यसअघि पनि नेकपा एमालेका अध्यक्ष ओलीसँग महन्थको राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो। केही समयअघि ओलीले आफ्नै सवारीमा महन्थलाई निजी निवास बालकोट पुर्‍याएर राष्ट्रपतिको निर्वाचन बारे छलफल चलाएका थिए। छलफलमा ओलीले आफ्नो पार्टीका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका थिए।

महन्थले ओलीको प्रस्तावबारे पार्टीमा कुरा राख्ने बताएर फर्किएका थिए। तर लोसपाको बैठकले पनि महन्थलाई नै राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ। अहिले लोसपाले समेत राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार चुन्नु पर्ने बताउँदै आएको छ। महन्थ समेत आफूलाई राष्ट्रिय सहमतिकै उम्मेदवार बनाउन आग्रह गर्दै शीर्ष नेतालाई भेटिरहेका छन्।

सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

प्रकाशित: १० फागुन २०७९ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =