त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

हिमाल प्रेस ८ फागुन २०७९ १८:५५
8
SHARES
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज गरिएको छ। विगत लामो समयदेखि गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवाको म्याद थप नगरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार खारेज गरिदिएको हो। प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले थाइ एयरवेजले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज गरिएको जानकारी दिए। ‘थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम आजको मितिदेखि बन्द भएको छ’ उनले सोमबार भने।

थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय गरिएको निरौलाले बताए। उनका अनुसार थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा अब नेपाल वायु सेवा निगमले गर्नेछ।

थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने निरौलाको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा मुछिएपछि निलम्बनमा परेका छन्। घुस प्रकरणको अनुसन्धान भइरहेको छ।

सोमबार थाइ एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ खारेज गरेको विषयको असर अनुसन्धानमा नपर्ने निरौलाले बताए। ‘थाइ एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ’ निरौलाले भने, ‘त्यसका साहयक कम्पनी, जिएसए कम्पनीले गर्दै आएको सेवाहरू आजका मितिदेखि बन्द भएका छन्। अनुसन्धानमा रहेको विषयलाई यो निर्णयले खासै फरक पार्दैन।’

विमानस्थलका महाप्रबन्धक ठाकुरससहित घुस प्रकरणमा परेको ‘थाइ स्माइल’ थाइ एयरवेजकै सब्सिडरी कम्पनी रहेको हो। थाइ स्माइलले उडान सञ्चालन सेवा दिए पनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज गरिएको प्राधिकरणको भनाइ छ।

साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङको सेवा दिइने प्रावधान रहेको छ। विगतमा प्राधिकरणका महानिर्देशकले थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुरलगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थिए।

प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता एक करोड रुपैयाँभन्दा बढी छ। बन्द भएको थाइ एयरवेजलाई चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको छ। थाइ एयरवेजको ग्राउण्ड ह्याण्डलिङको सेवा खारेज गर्ने निर्णयले वार्षिक तीन अर्ब रुपैयाँ बाहिर जानबाट रोकिने प्राधिकरणले बताएको छ।

प्रकाशित: ८ फागुन २०७९ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =