राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजौं, पार्टीले तोकेर हुँदैन : प्रचण्ड

हिमाल प्रेस ८ फागुन २०७९ १७:०५
10
SHARES
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजौं, पार्टीले तोकेर हुँदैन : प्रचण्ड फाइल तस्बिर।

पोखरा– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ रहेका दलहरू फेरि एकै ठाउँ उभिनुपर्ने बेला आएको बताएका छन्।

सोमबार कास्कीको लेखनाथमा पार्टी गण्डकी प्रदेश कमिटीको छैटौँ पूर्णबैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो,’ उनले भने, ‘राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। पार्टीले तोकेकै मान्छे राष्ट्रपति बन्नुपर्छ भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।’

दुई महिना जनतामा गएर उनीहरूबारेको ‘रिपोर्ट’ ल्याउन नेताहरूलाई उनले निर्देशन दिए। ‘दुई महिनाभित्र हामी केन्द्रीय कमिटीको पूर्णबैठक बस्छौं। त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौँ, उनीहरूका सुझाव लिउँ,’ उनले भने, ‘सहिद परिवार, बेपत्ता परिवार, घाइते अपांगता भएका साथीहरू भेटौँ। उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौँ।’

समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेकाले आगामी केन्द्रीय कमिटीको बैठकसम्म एउटा निष्कर्षमा पुगिने उनको भनाइ छ। ‘देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्त्वपूर्ण कार्यभार रहन्छ। केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ। छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ उनले भने।

वर्तमान सरकारले जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

प्रकाशित: ८ फागुन २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =