चाइना जर्नल

चीनको अर्थतन्त्रमाथि एक नजर

अजय अलौकिक ८ फागुन २०७९ ६:४०
240
SHARES
चीनको अर्थतन्त्रमाथि एक नजर दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको जुनी–युकिङ एक्सप्रेस वेमा रहेको सियाङजियाङ नदीमाथिको भव्य पुल। तस्बिर : सिन्हवा

जटिल अन्तर्राष्ट्रिय परिदृश्य तथा चुनौतीपूर्ण पृष्ठभूमिको सामना गर्दै चीनले उल्लेखनीय उपलब्धि हासिल गर्‍यो। महामारीपछिको विश्व अर्थतन्त्रको पुनःउत्थानमा चीनको भूमिका अझै महत्त्वपूर्ण बनेको छ। साथै सन् २०२३ मा चीनको आर्थिक वृद्धि दर चालु वर्षको तुलनामा अझै उच्च हुने अपेक्षा गरिएको छ।

सर्वविदितै छ, विश्व अर्थतन्त्रमा मन्दी छाएको छ। महामारीलगायत प्राकृतिक प्रकोप तथा भूराजनीतिक द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा अझै अस्थिरता थपिएको छ। वल्ड इकोनोमिक सिच्वेसन एन्ड प्रोसपेक्ट्स (डब्ल्यूईएसपी) २०२३ ले विश्व अर्थतन्त्रको निराशाजनक तस्बिर प्रस्तुत गर्दै बहुसंकटहरूले विश्व अर्थव्यवस्थामा थप क्षति हुने सम्भावना रहेको औँल्याएको छ।

विश्वको आर्थिक वृद्धि दर अनुमानित ३ प्रतिशतबाट घटाएर मात्र १.९ प्रतिशत हुने अनुमान गरिएको छ। यति हुँदाहुँदै चीनको आर्थिक वृद्धिमा सुधार हुने संकेत विभिन्न संघसंस्थाहरूको अध्ययनले जनाएका छन्। यहाँ तिनै संघसंस्थाका आधारमा चिनियाँ अर्थतन्त्रमाथि चर्चा गरिएको छ।

संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा चीनको आर्थिक वृद्धिमा सुधार हुने उल्लेख गरिएपछि चिनियाँ अर्थतन्त्र विश्व आर्थिक वृद्धिको सम्भावनाको ‘हट टपिक’ बनेको छ। त्यसो त साथै सन् २००८ को विश्वव्यापी वित्तीय संकटदेखि चीन विश्व अर्थतन्त्रमा एक दरिलो खम्बाका रूपमा उभिएकै छ। बीस-तीस वर्षदेखि चीन विश्व अर्थतन्त्रको इन्जिनका रूपमा रहँदै आएको सबैले स्वीकारकै विषय हो।

विश्व बैँकको तथ्यांकले सन् २०१३ देखि २०२१ को अवधिमा विश्व आर्थिक वृद्धिमा चीनको योगदान औसत ३८.६ प्रतिशत रहेको देखाएको छ। विश्वको एक प्रमुख आर्थिक शक्ति राष्ट्र चीन कोभिड-१९ महामारीमा समेत सकारात्मक वृद्धि हासिल गर्ने राष्ट्र बनेको थियो। ठुल्ठूला शक्ति राष्ट्रको अर्थतन्त्र क्षीण भएको अवस्थामा चीनले आफ्नो धनात्मक वृद्धिलाई कायम राख्न सफल भएको थियो।

सन् २०२० मा आफ्नो आर्थिक वृद्धि दर नतोकेको चीनले अन्तमा धनात्मक वृद्धि गर्दै प्रमुख आर्थिक शक्ति राष्ट्रमध्ये ऊ मात्रै सफल बनेको थियो। महामारी भए पनि सकारात्मक आर्थिक वृद्धि हासिल गर्ने विश्वको एकमात्र प्रमुख अर्थव्यवस्था बनेको थियो चीन। सन् २०२१ मा पनि यो प्रक्रिया जारी रह्यो। सन् २०२० देखि २०२२ सम्म चीनको अर्थतन्त्रले वार्षिक औसत ४.५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको छ, जबकि विश्व अर्थतन्त्रको औसत करिब २ प्रतिशत मात्र रह्यो।

यसका अतिरिक्त सन् २०२० मा चीनको अर्थतन्त्रले पहिलोपटक १०० ट्रिलियन युआन (१४.८ ट्रिलियन अमेरिकी डलर) नाघेको थियो। साथै सन् २०२१ मा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) ८.४ प्रतिशतले वृद्धि भई ११४ ट्रिलियन युआनभन्दा बढी पुगेको थियो भने सन् २०२२ मा यो १२१ ट्रिलियन युआनभन्दा माथि उक्लँदै अर्को उच्च बिन्दुमा पुगेको छ।

चीन राष्ट्रिय तथ्यांक ब्युरोले जनवरी १७ तारिख सार्वजनिक गरेको ‘सन् २०२२ को चीनको प्रारम्भिक आर्थिक तथ्यांकअनुसार सन् २०२२ मा चीनको जीडीपी १२१० खर्ब दुई अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ। यो सन् २०२१ को तुलनामा तीन प्रतिशतले वृद्धि हो।

विगत तीन वर्षमा कोभिड महामारीले विश्वव्यापी आर्थिक उत्पादनमा असर पारेको छ। यद्यपि कोभिड नियन्त्रणका उपायहरूको गतिशील समायोजन र समयमै विकास समर्थक नीतिहरूको साथमा चिनियाँ अर्थव्यवस्थाले आफ्नो बलियो लचिलोपन प्रमाणित गरेको छ। गत वर्षको दोस्रो त्रैमासिकदेखि चिनियाँ अर्थतन्त्रमा दबाब देखिएको थियो र स्थिर बनाउने प्रयासमा चीनको राज्य परिषद्ले ३३ वटा उपाय तथा नीति लागू गरेको थियो।

यसबाहेक हालै (जनवरी २८) चिनियाँ प्रधानमन्त्री ली खछ्याङको अध्यक्षतामा बसेको एक बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि उपभोगमा तीव्रता ल्याउने तथा वैदेशिक व्यापार र लगानी वृद्धि गर्ने योजना अघि सारेको छ। आर्थिक रिबाउन्ड र आर्थिक रिकभरीको निरन्तर प्रवृत्ति उल्लेख गर्दै बैठकले केन्द्रीय आर्थिक कार्य सम्मेलनका निर्णय कार्यान्वयन गर्दै आर्थिक प्रदर्शनलाई उचित दायरामा राख्न वृद्धि, रोजगारी तथा मूल्यमा स्थिरता सुनिश्चित गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ। अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न नीतिगत प्याकेजको प्रभावकारी कार्यान्वयन सुनिश्चितताका लागि ठोस कदम चालिने बताइएको छ।

डिसेम्बर १५ र १६ तारिखमा आयोजित चीनको वार्षिक केन्द्रीय आर्थिक कार्य सम्मेलनले सन् २०२३ को आर्थिक कार्यबारे संक्षेपीकरण, वर्तमान आर्थिक स्थितिको विश्लेषण तथा आर्थिक कार्य निर्देशनलगायतका विषयमा निर्यण तथा योजना अघि सार्दै स्थिरतालाई प्राथमिकतामा राखेर स्थिरतासँगै विकासको मार्गनिर्देशन गरेको छ। सम्मेलनले आर्थिक सञ्चालनलाई समष्टिगत सुधार गर्न अघि बढाउने धारणा व्यक्त गर्नुका साथै ३१ पटक स्थिरताको भाव उल्लेख गरेको थियो।

साथै आर्थिक विकासको समष्टिगत सुधार गरेर गुणस्तरीय विकासलाई बढाउने आग्रह गरेको छ। आर्थिक सुधार र खुलापन नीतिका साथै देशको विस्तारित मध्यम वर्ग र बढ्दो उपभोगले आर्थिक वृद्धिलाई गति दिने अपेक्षा पनि गरिएको छ।

गत वर्ष चीनको अर्थतन्त्रका केही अवयवको आर्थिक तथ्यांक

चीनको उपभोक्ता मूल्य सूचकांक सन् २०२२ मा २ प्रतिशतले बढेको चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जनाएको छ। यो चीन सरकारको वार्षिक लक्ष्य तीन प्रतिशतभन्दा कम रहेको पनि जनाइएको छ। सन् २०२२ मा चीनको प्रतिव्यक्ति डिस्पोजेबल आय ३६,८८३ युआन रहेको छ र ५ प्रतिशतले बढेको छ। तथ्यांक ब्युरोका अनुसार मूल्य कारकतत्त्वहरू घटाएपछि प्रतिव्यक्ति डिस्पोजेबल आय अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले बढेको छ।

सन् २०२२ मा चीनको अनलाइन खुद्रा बिक्री वार्षिक रूपमा ४ प्रतिशत बढेर १३.८ ट्रिलियन युआन पुगेको छ। गत वर्ष चीनको ३ प्रतिशत जीडीपी वृद्धिमा उपभोगले ३२.८ प्रतिशत योगदान पुर्‍याएको छ। चीन विश्वको दोस्रो ठूलो उपभोग बजार र शीर्ष अनलाइन खुद्रा बजार पनि हो। सन् २०२१ मा चीनको डिजिटल अर्थतन्त्र विश्वको दोस्रो स्थान ओगट्दै ७.१ ट्रिलियन डलर पुगेको छ। सन् २०१२ देखि २०२१ सम्म चीनको जीडीपीमा डिजिटल अर्थतन्त्रको हिस्सा २१.६ बाट ३९.८ प्रतिशत पुगेको छ।

चीनको सेवा व्यापार मूल्य सन् २०२२ मा वार्षिक १२.९ प्रतिशतले बढेको छ। तथ्यांकअनुसार कुल व्यापार मूल्य ५.९८ ट्रिलियन युआन छ। सेवाको निर्यात वार्षिक रूपमा १२.१ प्रतिशतले बढेर २.८५ ट्रिलियन युआन पुगेको छ भने आयातित सेवा अघिल्लो वर्षको तुलनामा १३.५ प्रतिशतले बढेर २७५.७१ अर्ब युआनको घाटा भएको छ।

सन् २०२२ मा निर्यात १०.५ प्रतिशतले बढेर २३.९७ ट्रिलियन युआन पुगेको छ भने आयात ४.३ प्रतिशतले बढेर १८.१ ट्रिलियन युआन पुगेको छ। चीनको वैदेशिक व्यापार पनि आर्थिक वृद्धिका लागि प्रेरक शक्तिका रूपमा रहेको र कुल मालसामान व्यापार पहिलोपटक ४० ट्रिलियन युआनभन्दा माथि पुगेको चीनको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार कुल मालसामानको व्यापार गत वर्षको तुलनामा ७.७ प्रतिशतले बढेर ४२.०७ ट्रिलियन युआन पुगेको छ र सन् २०२२ मा चीन लगातार छैटौँ वर्षका लागि सबैभन्दा ठूलो मालसामान व्यापार गर्ने देश बनेको छ। कुल वस्तु र सेवा निर्यातले जीडीपी वृद्धिमा १७.१ प्रतिशत योगदान पुर्‍याएको छ। साङहाई बन्दरगाह लगातार १३ औँ वर्षदेखि विश्वको सबैभन्दा व्यस्त कन्टेनर पोर्टका रूपमा छ।

पूर्वी चीनको झेजियाङ प्रान्त अवस्थित निङ्बोमा रहेको लाओवैतानको रात्रिकालीन दृश्य। तस्बिर : सिन्हवा

चीनको सवारीसाधन बिक्री सन् २०२२ मा २.१ प्रतिशतले बढेर २६.८६ मिलियन पुगेको छ। यसैगरी सवारीसाधन उत्पादन २७ मिलियन एकाइ नाघेको छ। चीनले लगातार १४ वर्षदेखि सवारीसाधन उत्पादन तथा बिक्रीका क्षेत्रमा विश्वमा पहिलो स्थान ओगटेको छ। साथै नयाँ ऊर्जा सवारीसाधनमा पनि लगातार आठौँ वर्ष विश्व बजारको शीर्ष स्थानमा छ। सन् २०२२ मा चीनले ४,१०० किलोमिटर नयाँ रेलमार्ग सञ्चालनमा ल्याएको छ, त्यसमध्ये आधाभन्दा बढी हाइस्पिडको छ।

गत वर्ष चीनको अनुसन्धान र विकासमा कुल खर्च ३.०९ ट्रिलियन युआन पुगेको छ। सन् २०२२ मा चीनको रोजगारी बजारमा कुल १२.०६ मिलियन नयाँ सहरी रोजगार सिर्जना भएको छ।

प्रतिकुल मौसम भए पनि चीनमा गत वर्ष सन् २०२१ को तुलनामा ०.५ प्रतिशतको वृद्धिसँगै ६८६.५३ अर्ब किलोग्राम अन्न उत्पादन भएको छ। चीनले लगातार आठ वर्षदेखि ६५० अर्ब किलोग्रामभन्दा बढी अन्न उत्पादन गर्दै आएको छ।

चिनियाँ बैंकहरूले सन् २०२२ मा १०७.३ बिलियन अमेरिकी डलरको विदेशी मुद्रा खरिद गरेको तथ्यांक छ। चीनको विदेशी मुद्रा सञ्चिति ३.१२७७ ट्रिलियन डलर रहेको देखाइएको छ।

चीनको फिक्स्ड एस्सेट लगानी गत वर्ष ५.१ प्रतिशतले बढेर ५७.२१ ट्रिलियन युआन पुगेको राष्ट्रिय तथ्यांक ब्युरोले जनाएको छ। चीनमा प्रत्यक्ष वैदेशिक लगानी ६.३ प्रतिशतले बढेर १.२३ ट्रिलियन पुगेको छ। उत्पादन उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रवाह ४६.१ प्रतिशतले बढेर ३२३.७ बिलियन पुगेको छ। त्यसमध्ये अघिल्लो वर्षको तुलनामा उच्चप्रविधिको उद्योगमा २८.३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

यसरी महामारीका क्रममा विश्वव्यापी आपूर्ति शृंखला अस्तव्यस्त भएको अवस्था पनि चीन सफल छ। गत वर्ष पनि जटिल अन्तर्राष्ट्रिय परिदृश्य तथा चुनौतीपूर्ण पृष्ठभूमिको सामना गर्दै चीनले उल्लेखनीय उपलब्धि हासिल गर्‍यो। महामारीपछिको विश्व अर्थतन्त्रको पुनःउत्थानमा चीनको भूमिका अझै महत्त्वपूर्ण बनेको छ। साथै सन् २०२३ मा चीनको आर्थिक वृद्धि दर चालु वर्षको तुलनामा अझै उच्च हुने अपेक्षा गरिएको छ। यद्यपि सन् २०२२ मा सुस्त देखिएको विश्व आर्थिक वृद्धि यो वर्ष झनै कमजोर हुने आकलन छ।

हालै विश्व बैंकले सन् २०२३ को विश्व आर्थिक वृद्धि प्रक्षेपणलाई गत जुनको लगभग ३ प्रतिशतको पूर्वअनुमानबाट १.९ प्रतिशतमा घटाएको छ। यो पृष्ठभूमिमा विश्वको दोस्रो ठूलो आर्थिक समूहका रूपमा रहेको चीनको स्थिर आर्थिक सञ्चालन अत्यन्तै महत्त्वपूर्ण देखिएको छ।

विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२३ मा चीनको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुनेछ। विभिन्न अन्तर्राष्ट्रिय लगानी बैंक र वित्तीय संस्थाहरूले सन् २०२२ को अन्त्यमा कोभिड नीतिहरू समायोजन तथा मौद्रिक तथा वित्तीय नीतिहरूलाई सहजीकरण र बलियो लचिलोपन तथा समग्र आर्थिक प्रदर्शनबाट चीनको आर्थिक वृद्धि दर पूर्वानुमानबाट परिमार्जन गर्दै बढाएका छन्।

डब्ल्यूईएसपी २०२३ को रिपोर्टअनुसार सन् २०२३ मा चीनको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनवरी ३० तारिख चीनको अर्थतन्त्र सन् २०२३ मा ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन अक्टोबर २०२२ को प्रक्षेपणभन्दा ०.८ प्रतिशत अंकले बढी हो।

चीनले सन् २०२३ मा विश्वव्यापी वृद्धिलाई गति दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ। चिनियाँ शैलीको स्थिर आर्थिक विकासले विश्वलाई अवसर प्रदान गर्नेछ साथै विश्व अर्थतन्त्रलाई टेवा पनि दिनेछ।

प्रकाशित: ८ फागुन २०७९ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =