रोहित जस्ता कप्तान पाउनु भारतका लागि अहोभाग्य हो : भारतीय प्रशिक्षक राहुल द्रविड

हिमाल प्रेस ७ फागुन २०७९ १९:३४
20
SHARES
रोहित जस्ता कप्तान पाउनु भारतका लागि अहोभाग्य हो : भारतीय प्रशिक्षक राहुल द्रविड

काठमाडौँ- अस्ट्रेलियामाथिको दोस्रो टेस्टमा जित हात पारेपछि भारतीय टिमका प्रशिक्षक राहुल द्रविडले कप्तान रोहित शर्माको तारिफ गरेका छन्। उनले रोहित जत्तिको प्रभावशाली कप्तान पाउनु भारतीय टेस्ट टिमका लागि अहोभाग्य भएको बताए।

विराट कोहलीले जनवरी, २०२१ मा कप्तानी त्यागेपछि उनको स्थान रोहितले लिएका थिए। कोहली जस्तो स्थापित कप्तानको स्थान लिएर रोहितले आफूलाई अब्बल साबित गरेको द्रविडको भनाइ थियो।

‘यो टिमका केही असाध्यै अनुभवी खेलाडीमध्येका एक हुन्, रोहित। उनको स्वाभाव कम बोल्ने खालको छ। तर जब उनी बोल्न थाल्छन्, तब सबैको ध्यान उनीतिर हुन्छ। विराट जस्ता कप्तानलाई प्रतिस्थापन गर्नसक्ने खेलाडी पाउनु भाग्यको कुरा हो,’ आइतबार पाहुना टिम अस्ट्रेलियालाई ६ विकेटले हराएपछि द्रविडले भने।

प्रशिक्षकले द्रविडले तल्लोक्रमका ब्याट्सम्यानले निर्माण गरेको साझेदारीको पनि तारिफ गरे। कोहली र रविन्द्र जडेजा तथा अक्सर पटेल र रविचन्द्रन आश्विनबीच महत्त्वपूर्ण साझेदारी भएका थिए। भारतीय टिमका पूर्वब्याट्सम्यान द्रविडले अस्टे«लियासँगको खेलमा आफ्नो टिम २ सय २५ रनसम्मको लक्ष्य पछ्याउन तयार रहेको पनि बताए।

ब्याट्समयानहरुको तारिफ गरिरहँदा द्रविडले बलरहरुको प्रदर्शनमाथि टिप्पणी पनि गरे। दोस्रो दिनको अन्तिम सेसनमा बलरहरुले अपेक्षा गरेभन्दा बढी रन खर्चिएको उनको भनाइ थियो।

‘अन्तिम सेसनमा हामीले कमजोर बलिङ गरिरह्यौँ। जसकारण अस्ट्रेलियाका ब्याट्सम्यानले बढी रन बनाउन सके। तर आज विहान भने हामीले बलिङमा सुधार गर्‍यौँ। त्यसपछि खेल हाम्रो नियन्त्रणमा गयो,’ द्रविडले भने।

शृंखलामा २–० को अग्रता लिँदै बोर्डर–गावस्कर ट्रफी भारतमै राख्ने निश्चित गरेपछि कप्तान रोहित प्रशन्न देखिए। यो सफलताको श्रेय उनले स्पिनर जोडी जडेजा र आश्विनलाई दिए। करियरकै उत्कृष्ट बलिङ गरेका जडेजाले ५९ रन खर्चिएर सात विकेट लिएका थिए। आविश्वनले तीन विकेट हात पारेका थिए।

‘हिजोकै कुरा गर्दा पनि हामी पछाडि परेका थियौँ। तर हामीले बलियो पुनरागमन गर्न सक्यौँ। आज बिहान जडेजा र आश्विनले नौ विकेट लिए। उनीहरूले निर्वाह गरेको भूमिकाको तारिफ गर्नैपर्छ,’ रोहितले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =