महिला फुटबल टोली स्वदेश फिर्ता

हिमाल प्रेस ७ फागुन २०७९ १८:५३
14
SHARES
महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेर आइतबार स्वदेश फर्किएको छ। प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएर नेपाली टोली आइतबार स्वदेश फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन्। उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको बताइन्। राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो योगदान रहेको उनको भनाइ थियो।

आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिए पनि उनीहरूविरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको उनले बताइन्। आफ्नो टोलीकी प्रिति राई बिरामी र गीता राना चोटग्रस्त भएकाले अपेक्षा अनुसारको खेल नभएको उनले स्वीकारिन्।

त्यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारीमा पनि राम्रो प्रदर्शन गर्न सकिएको र सोही अभ्यासबाट घरेलु टोलीविरुद्ध सुखद् नतिजा निकाल्न सफल भएको बताइन्। दुवै खेलमा सन्तोषजनक प्रदर्शन रहेकाले सबै खेलाडीको मनोबल उच्च रहेको उनको भनाइ थियो।

पहिलो खेलमा पछि परेको अवस्थामा स्ट्राइकर सावित्राले सम्हालिएर प्रदर्शन गर्न सकिएको बताइन्। प्रिति राईले आफ्नो टोली जितको खोजीमा भए पनि राम्रो खेलेको बताइन्। अर्की खेलाडी अमिषा कार्कीले मैत्रीपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताइन्। उनले आफ्नो स्वभाविक खेल खेल्न नसकेको भन्दै आगामी दिनमा सुधार गर्ने बताइन्।

एशियन कप छनोटको तयारीमा रहेको नेपाली फुटबल टिमले भारतसँगको खेलबाट राम्रो अनुभव लिएको बताएको छ। प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताए। भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो। खेल अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो । पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले एक पेनाल्टी गोलसहित एक गोल गरेकी थिइत्। त्यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले भारतविरुद्ध गोलरहित बराबरी खेलेको थियो। बराबरी नतिजा निकाल्ने क्रममा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको खेल उत्कृष्ट रहेको थियो।

प्रकाशित: ७ फागुन २०७९ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =