संघीय सरकारले दिएका डायलासिस मेसिन राप्ती प्रादेशिक अस्पतालमा थन्किए, पालो कुर्दै ८४ जना बिरामी

हिमाल प्रेस ७ फागुन २०७९ १७:३२
10
SHARES
संघीय सरकारले दिएका डायलासिस मेसिन राप्ती प्रादेशिक अस्पतालमा थन्किए, पालो कुर्दै  ८४ जना बिरामी

तुलसीपुर- संघीय सरकारले उपलध गराएका ८ वटो डायलसिस मेसिन दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा थन्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई ८ वटा डायलायसिस मेसिन उपलब्ध गराएको थियो। तर ती मेसिन प्रयोगमा आउन नसकेपछि अस्पतालको एउटा कोठामा थन्किएका छन्। मेसिन आएको ७ महिना पुग्न लाग्दा पनि मेसिन जडान हुन सकेका छैनन्। राप्ती प्रादेशिक अस्पताल प्रशासनले आर्थिक र जनशक्ति अभावका कारण जडान हुन नसकेको बताएको छ।

मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरिदका लागि २५ देखि ३० लाख रुपैयाँ खर्च लाग्ने अस्पताल प्रशासनको भनाइ छ। अहिले अस्पतालमा चार नर्सिङ कर्मचारी मात्रै कार्यरत छन्। मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी आवश्यक हुने अस्पताल प्रशासनको भनाइ छ। मेसिन जडानका लागि ठाउँको पनि अभाव छ। अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण भएको छैन। हस्तान्तरण नहुँदा पनि समस्या भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ओम अर्यालले बताए।

‘मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ’ उनले भने, ‘ठाउँको पनि अभाव छ। पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन।’ तत्काकलीन स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी प्रादेशिक अस्पताललाई ८ वटा डायलायसिस मेसिन उपलब्ध गराएका थिए। तीमध्ये तीन मेसिन बाँकेस्थित भेरी अस्पतालमा छन्। ती प्रादेशिक मेसिन फिर्ता गर्ने शर्तमा लगिएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अर्यालले बताए।

अहिले अस्पतालमा पाँच डायलायसिस मेसिनमध्ये चार मेसिन मात्रै सञ्चालनमा छन्। एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुनसकेको छैन। अन्य ५ वटा मेसिन पनि जडान हुन नसक्दा धेरै मिर्गौला रोगीले सास्ती भोग्नुपरेको छ।
अहिले ८४ जना बिरामीले पालो कुरिरहेका छन्।

उनीहरूमये कसैले काठमाडौँ, लमही, घोराही, बुटवललगायतका स्थानमा डायलायसिस गरिरहेका छन्। प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलायसिस गरिरहेका छन्। आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलासिस प्रमुख लीना बडेलको भनाइ छ। अहिले अस्पतालले चलाइरहेको मेसिनबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको उनको भनाइ छ।

आएका ८ वटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिने गरी अस्पतालको क्षमता बढ्नेछ। कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अर्यालले बताए। -राससको सहयोगमा

प्रकाशित: ७ फागुन २०७९ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =