गण्डकी प्रदेशस्तरीय आर्चरीमा दुर्गा र केशरी प्रथम

हिमाल प्रेस ६ फागुन २०७९ १८:३७
14
SHARES
गण्डकी प्रदेशस्तरीय आर्चरीमा दुर्गा र केशरी प्रथम प्रतियोगिता विजेताहरू। तस्बिर- विजय उत्सव/हिमाल प्रेस

पोखरा– गण्डकी प्रदेशस्तरीय दोस्रो खुला आर्चरी प्रतियोगितमा रिकर्भ खुला पुरुष प्रतिष्पर्धामा बागलुङका दुर्गा घर्तीमगर प्रथम भएका छन्। पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा शनिबार उनले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६-० अंकले पराजित गरी प्रथम स्थान हासिल गरेका हुन्।

यस्तै कास्कीमा सुमन गुरुङले ६-४ को अंकमा कास्कीकै अशिम शेरचनलाई हराउँदै तेस्रो स्थान भेटाए।

रिकर्भ खुला महिलातर्फ कास्कीकी केशरीमाया आलेमगरले कास्कीकै अनुस्का शेरचनलाई ७-३ अंकमा पराजित गर्दै उपाधि जितिन्। यस्तै, रोजिना थापाले विष्णुमाया लिम्बुलाई ६-४ अंकले पराजित गर्दै तेस्रो भइन्। दुवै कास्कीका हुन्।

पुरुष स्टान्डर्डतर्फ बागलुङका हिक्मत पुरीले कास्कीका कुमार पुर्जालाई ६-२ अंकमा पराजित गरी उपाधि जिते। बागलुङका मुकेश रोकामगरले रेशम पुर्जा पुनलाई ७-५ मा हराउँदै तेस्रो भए।

रिकर्भ ओपन पुरुषतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार साथमा सिल्ड, मेडल र प्रमाण पत्र पाए। सोही इभेन्टका महिलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाए। स्टान्डर्ड पुरुषतर्फ क्रमशः २०, १५ र १० हजार रुपैयाँ पुरस्कार पाए।

भेट्रान्सतर्फ म्याग्दीका जयप्रकाश छन्त्याल प्रथम भए। उद्घाटनको दिन शुक्रबार उनले ८ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन्। प्रतियोगितामा कास्कीका हिरामान लालचन दोस्रो र म्याग्दीका भीमेन्द्रमान पुन तेस्रो भएका छन्। सो इभेन्टमा ८७ वर्षीय मीनबहादुर शेरचन र ६९ वर्षीय हरिध्वज तुलाचनलेसमेत भाग लिएका थिए।

भेट्रान्स पुरुषतर्फ प्रथमले ८ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गरे।

विजयी खेलाडीहरूलाई नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, संस्थापक अध्यक्ष हरिधोज तुलाचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन, पूर्वअध्यक्ष वसन्त थकाली, अन्नपूर्ण आर्चरी क्लब कास्की पूर्वअध्यक्ष मीनबहादुर शेरचनलगायतले पुरस्कार वितरण गरे।

प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, म्याग्दी बागलुङ र कास्कीका गरी ८९ जना खेलाडीहरूको सहभागिता थियो।

प्रदेश खेलकुद परिषद््को वार्षिक कार्यक्रमअन्तर्गत प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी प्रदेश आर्चरी सघको संयोजन एवं कास्की जिल्ला आर्चरी संघको सहआयोजनामा सो प्रतियोगिता भएको हो। रिकर्भ ओपनतर्फ ७० मिटर र स्टान्डर्डतर्फ ३० मिटर दूरीमा खेल भएको हो।

२ दिनसम्म चलेको प्रतियोगिताको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए।

प्रकाशित: ६ फागुन २०७९ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =