नामिबियाबाट नेपाललाई फेरि विशाल लक्ष्य

हिमाल प्रेस ६ फागुन २०७९ १२:४५
8
SHARES
नामिबियाबाट नेपाललाई फेरि विशाल लक्ष्य

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी शृंखलामा नामिबियाले नेपालविरुद्ध फेरि एकपल्ट बलियो ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनको योगफल तयार पारेको हो।

गत मंगलबार घरेलु टिमसँग दुई विकेटको पराजय भोगेको नामिबियाका लागि मध्यक्रमका ब्याट्सम्यान जेन ग्रिन र पिक्की या फ्रान्सले आक्रामक ब्याटिङ गरे। जेन ग्रिनले अविजित ७५ रन बनाउँदा फ्रान्स एक रनले अर्धशतक बनाउन चुके।

टस हारेर ब्याटिङ गरेको नामिबियालाई लोहान्द्रे लौउरेन्स र कार्ल बिरकेनस्टोकले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै सन्तोषजनक सुरुवात दिलाएका थिए। लौउरेन्स र बिरकेनस्टोकबीचको साझेदरी भत्काउन नेपालले १५ औँ ओभरसम्म पर्खनु परेको थियो। सन्दीप लामिछानेको बलमा आउट हुनुअघि लौउरेन्सले ५४ बलमा ४१ रन जोडिसकेका थिए।

अर्का ओपनर बिरकेनस्टोक पनि सन्दीपकै बलमा बाहिरिए। २० रन बनाएका बिरकेनस्टोकलाई सन्दीपले ज्ञानेन्द्र मल्लमार्फत १७ औँ ओभरमा क्याच आउट गराए। नेपालसँगको पहिलो खेलमा लौउरेन्स र बिरकेनस्टोक क्रमशः पाँच र १३ रनमा आउट भएका थिए।

पल्लिो खेलमा नेपाललाई २८६ रनको लक्ष्य दिँदा १२४ रनको साझेदारी निर्माण गरेका माइकल भान लिन्गन र कप्तान जेरहार्ड इरास्मस यसपालि २२ र १५ रनका आउट भए।

२९ औँ ओभरमा इरास्मस आउट हुँदा नामिबिया १०७ रन बनाएको स्थितिमा थियो। त्यसपछि ब्याटिङ थालेका ग्रिनले पाहुना टिमको इनिङ्स उकासेका थिए। उनले कुल ६३ बल सामना गर्दा एक छक्का र ११ चौका प्रहार गरे। ३८ औँ ओभरमा ब्याटिङ सुरु गरेका फ्रान्सले ३९ बलमा ४९ रन जोडे। जसमा तीन छक्का र चार चौका सम्मिलित थिए। मंगलबार नामिबिया नेपालसँग पराजित हुँदा ग्रिनले ३४ र फ्रान्सले २ रन बनाएका थिए।

नामिबियाका दुई ओपनरलाई आउट गरेका सन्दीपले कुल तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४६ रन खर्चिएका थिए। नेपालका कुनै पनि बलरले किफयाती बलिङ गर्न सकेनन्। अघिल्लो खेलमा नामिबियाको पाँच विकेट लिएका करण केसीले यो पटक एक विकेट लिएर ७४ रन खर्च गरे। नौ ओभरमा ५३ रन खर्च गरेका सोमपाल कामी भने विकेटविहीन बने।

प्रकाशित: ६ फागुन २०७९ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =