नेतृत्वमा नारी

उपत्यका र पहाडमा ‘अब्बल’ सीडीओ पाण्डेको अब तराईमा परीक्षा

विवेक विवश रेग्मी ६ फागुन २०७९ १४:३१
3.4k
SHARES
उपत्यका र पहाडमा ‘अब्बल’ सीडीओ पाण्डेको अब तराईमा परीक्षा हुमकला पाण्डे, प्रमुख जिल्ला अधिकारी सुनसरी। तस्बिर : विवेक विवश रेग्मी

इटहरी–हुमकला पाण्डे स्नातकोत्तर सकेर प्राध्यापनमा रमाइरहेकी थिइन्। २०६० सालतिर काठमाडौँको त्रिचन्द्रसहित विभिन्न कलेजमा व्यस्त हुन थालेपछि प्राज्ञिक पेसालाई अगाडि बढाउने लक्ष्य थियो उनको।

विवाह गरेसँगै पाण्डेको नजर निजामतीतिर सोझियो। श्रीमान्‌को हौसलापछि उनले त्यही बाटो पक्डिइन्। सामान्य प्रशासनतर्फको शाखा अधिकृतदेखि सहसचिवसम्म खुला प्रतिस्पर्धाबाटै फड्को मारिरहेकी पाण्डेले यति बेला जिल्ला प्रशासन सुनसरीको ‘कमान्ड’ सम्हालिरहेकी छन्। सुनसरी जिल्ला प्रशासनको ५० बर्से इतिहासमा पहिलो महिला प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाण्डेलाई मिलेको छ।

सीमा अपराधका कारण सुनसरी अन्य जिल्लाभन्दा शान्तिसुरक्षाका दृष्टिले चुनौतीपूर्ण मानिन्छ। तर चुनौतीलाई सहजै व्यवस्थापन गर्ने उनको दृढता छ। सुनसरीको नेतृत्व सम्हाल्दा चुनौती र अवसर दुवै थपिएको पाण्डे बताउँछिन्। ‘सुनसरीको नेतृत्व गर्न पाउँदा खुसी छु,’ उनले भनिन्, ‘सँगसँगै चुनौती पनि पूरा गरेर अघि बढ्नु छ।’

पाण्डेले यतिबेला सुनसरीको राजनीतिक एवम् प्रशासनिक अवस्थिति र सहकार्यबारे छलफलमा व्यस्त छिन्। कार्यालयको दैनिक जिम्मेवारी पनि छँदैछ। उनले भनिन्, ‘दैनिक जिम्मेवारीसँगै सुरक्षा निकायसँग जनशक्ति र सहकार्यबारे छलफल तथा अन्तरक्रिया गरिरहेकी छु।’

भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले आउन सक्ने चुनौती सामना गर्न ठोस रणनीति बनाएर काम गर्ने पाण्डेको योजना छ। आपराधिक गतिविधि हुने ठाउँमा स्थलगत अध्ययन गरी सुरक्षाकर्मी परिचालन गरिने उनले बताइन्।

जिल्ला प्रशासनबाट प्रवाह हुने परिचयपत्र, राहदानीजस्ता सेवा प्रवाहको अवस्था देशभर भद्रगोल छ। प्रविधिमैत्री नहुँदा सेवाग्राही मारमा परेको विषयमा पाण्डे जानकार छिन्। उनी भन्छिन्, ‘सरकारी निकायबाट आमनागरिकले पाउने हैरानी र सास्ती अन्त्य गर्नैपर्छ।’ त्यसैले उनी सेवा प्रवाह चुस्त बनाउने प्राथमिकता रहेको बताउँछिन्।

‘इमानदारीसाथ निःस्वार्थ भावले काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले सुनाइन्, ‘कार्यालय भनेको परिवारजस्तै हो भन्ने कुरा हरेक निजामती कर्मचारीले बुझ्नुपर्छ। त्यसो हुँदा जनताले सहज सेवा पाउँछन्।’

हरेक कर्मचारीले लक्ष्य राज्यको उद्देश्य पूरा गर्ने हुनुपर्ने उनको बुझाइ छ। उनी भन्छिन्, ‘राज्यको उद्देश्य पूरा गर्ने हाम्रो लक्ष्य हो भन्ने कर्मचारीले बुझ्नुपर्छ। विभेद, द्वेष सिर्जना गर्नेभन्दा पनि सहज सेवा प्रवाहमा हातेमालो गर्नुपर्छ।’

सीडीओमा महिला वा पुरुष, त्यसले काममा असर नगर्ने उनको भनाइ छ। ‘प्रमुख जिल्ला अधिकारीको काम नियम, ऐन र कानुनले बाँधेका जिम्मेवारी निर्वाह गर्ने हो,’ उनले भनिन्, ‘तोकिएको जिम्मेवारी पूरा गर्न पुरुष र महिलाले फरक पर्दैन।’ कुनै पनि काम महिला वा पुरुषभन्दा पनि कर्मचारीले फत्ते गर्ने उनको भनाइ छ।

‘कुर्सीमा बसेपछि महिला/पुरुष भन्ने अनुभूति हुनु हुँदैन,’ उनले भनिन्, ‘जिम्मेवारी आइपर्ने चुनौती सामना गर्नु कर्तव्य हो।’ कहिलेकाहीँ पाण्डेले समाजको साँघुरो सोच अनुभव गर्न पाउँछिन्। ‘महिला भएर पनि कति राम्ररी काम गरेको!’ लगायतका कुरा उनले धेरै पटक सुनेकी छन्।

कतिपय कार्यालयमा पहिलोपटक प्रमुख भएर जाँदा सरोकारवाला निकायले शंकाको दृष्टिले हेर्ने गरेको पाण्डेको अनुभव छ। कतिपयलाई ‘महिला प्रमुखले काम गर्न सक्छिन् कि सक्दिनन्? भन्ने हुँदो रहेछ,’ उनले सुनाइन्, ‘त्यहाँबाट बिदाइ हुँदाचाहिँ महिला भएर पनि काम गर्नुभयो भन्नुहुन्छ।’ उनी भन्छिन्, ‘कम्तीमा अबको पुस्तामा यो सोच नहोस् भन्ने कामना छ।’

धेरैजसो कार्यालयको नेतृत्व पुरुष भएका कारण समाजको सोच त्यस्तो भएको हुन सक्ने उनको अनुमान छ। सीडीओ पाण्डे भन्छिन्, ‘यो सोचाइ पनि बिस्तारै परिवर्तन भइरहेको छ।’  एकैपटक नेपाल सरकारको सहसचिव हुनु पाण्डे दम्पतीको अर्को संयोग हो। उनका श्रीमान् यमलाल भुसाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव छन्।

‘नौ जना महिला सीडीओ भए भनेर सकारात्मक सन्देश गएको छ। यसले निजामती सेवामा प्रवेश गर्न चाहने महिलालाई थप प्रोत्साहित गर्नेछ।’

पाण्डेले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण गरेकी थिइन्। उनी भन्छिन्, ‘एसएलसीमा पहिलोपटक छात्राले प्रथम डिभिजन ल्याउँदा सबै छक्क परेका थिए।’

त्रिचन्द्र कलेजबाट स्नातकोत्तर गरेपछि प्राध्यापन सुरु गरिन्। २०६० सालदेखि तीन वर्षसम्म त्रिचन्द्रसहित विभिन्न क्याम्पसमा प्राध्यापन गरेको उनको अनुभव छ।

पाण्डे २०६३ सालमा शाखा अधिकृत भएर निजामती क्षेत्रमा प्रवेश गरेकी हुन्। त्यसपछि दक्षिण कोरियाबाट कृषि विषयमा स्नातकोत्तर गरिन्। २०६८ सालमा उपसचिवमा नाम निकालिन्। उपसचिव बनेको सात वर्षपछि २०७५ सालमा सहसचिव भइन्।

पढाइसँगसँगै निजामती सेवामा सफल हुनुको केही रहस्य छ कि भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘निरन्तरको लगाव र परिश्रम।’ पढ्नुपर्छ, जागिर गर्नुपर्छ भन्ने पारिवारिक वातावरणले आफूमा विद्यार्थी जीवनदेखि नै केही गर्नुपर्छ भन्ने भावना पलाएको उनले बताइन्।

‘विद्यार्थी हुँदादेखि जागिर खानुपर्छ भन्ने मेरो सोच थियो,’ उनले भनिन्, ‘पारिवारिक पृष्ठभूमि पनि त्यस्तै थियो। आमाले जहिल्यै छोरीहरूलाई पढाउनुपर्छ भन्नहुन्थ्यो।’ पढाइलेखाइ गर्ने बानीका कारण निजामती क्षेत्रमा स्थापित हुन सजिलो भएको पाण्डेले बताइन्।

‘उच्चशिक्षा अध्ययन र लोकसेवाको तयारी एकअर्काका परिपूरक हुन्,’ उनले भनिन्, ‘लोकसेवाको पढाइले प्राज्ञिक अध्ययन र प्राज्ञिक अध्ययनले लोकसेवा सहज भयो।’ पाण्डेले लोकसेवाका सबै परीक्षा खुलाबाट पास गरेकी हुन्।

निजामती सेवामा महिला आकर्षण बढ्दै गएको छ। राज्यले आरक्षणको सुविधा दिएपछि धेरै महिलाले निजामतीमा प्रवेश पाएका छन्। ‘योग्य र सक्षम मानिसको आवश्यकता जहाँ पनि हुन्छ,’ उनले भनिन्, ‘निजामती सेवामा पनि हुन्छ। धेरैभन्दा धेरै महिला निजामती सेवामा आउनुपर्छ भन्ने लाग्छ।’

पछिल्लो समय एकैपटक ९ जना महिलाले सीडीओ बनेर जिल्लाको नेतृत्व गरिरहेका छन्। ‘एकैपटक ९ जना महिला सीडीओ’ भनेर सञ्चारमाध्यममा समाचार छापिँदा, सबैले वाहवाही गर्दा थप जिम्मेवारी महसुस भएको उनले बताइन्।

‘नौ जना महिला सीडीओ भए भनेर सकारात्मक सन्देश गएको छ,’ उनले सुनाइन्, ‘यसले निजामती सेवामा प्रवेश गर्न चाहने महिलालाई थप प्रोत्साहित गर्नेछ।’

पाण्डेले माघ १६ मा सुनसरीको ४८औँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा हाजिर गरेकी हुन्। पाण्डेले काभ्रेपलाञ्चोकमा पनि पहिलो महिला सीडीओ भएर काम गरिसकेकी छन्।

पाण्डे भक्तपुरको सीडीओ हुँदा नेपालमा कोराना भाइरस संक्रमण भर्खरै देखापरेको थियो। चीनको उहान क्षेत्रबाट उद्धार गरिएका नेपालीका लागि भक्तपुरको खरिपाटीमा क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो। त्यसको व्यवस्थापनसहित कोरोनाकालमा सीडीओका रूपमा पाण्डेले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिएको थियो।

काभ्रेमा रहँदा पनि पाण्डेले जिल्लाको शान्तिसुरक्षासहित विपद् व्यस्थापनजस्ता नियमित कामसहित स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुशल प्रशासनिक क्षमता देखाउने अवसर पाइन्। तीनै तहको निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराएपछि उनको सुनसरी सरुवा भएको छ।

उपत्यका र पहाडको जिल्लामा ‘अब्बल’ कार्यसम्पादन गरेकी पाण्डेले तराईमा सरकारी सेवालाई कसरी चुस्त र दुरुस्त बनाउने हुन्, त्यसका लागि केही समय पर्खनैपर्नेछ।

भक्तपुरको सीडीओ हुनुअघि उनले गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव भएर कार्यसम्पादन गरिसकेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =