दीपेन्द्र र कुशलको धैर्यपूर्वक ब्याटिङले नेपाल विजयी

हिमाल प्रेस ५ फागुन २०७९ १७:०९
26
SHARES
दीपेन्द्र र कुशलको धैर्यपूर्वक ब्याटिङले नेपाल विजयी

काठमाडौँ- दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले धैर्यपूर्वक ब्याटिङ गरेपछि नेपालले स्कटल्यान्डमाथि तीन विकेटको जित दर्ता गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरमा जारी शृंखलामा नेपालको यो दोस्रो जित हो। गत मंगलबार नेपालले नामिबियामाथि दुई विकेटको विजय हासिल गरेको थियो।

अविजित रहेका दीपेन्द्रले ८५ रन बनाएपछि नेपालले स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य १८ बल बाँकी रहँदा पूरा गरेको थियो। ११६ बल सामना गरेका दीपेन्द्रले एक छक्का र आठ चौका प्रहार गरेका थिए। दीपेन्द्रसँगै कुशल मल्लले पनि अर्धशतक बनाए।

नेपालले स्कटल्यान्डलाई दोस्रो पटक हराएको हो। गत जुलाईमा स्कटिस राजधानी ग्लास्गोमा भएको शृंखलामा नेपालले स्कटल्यान्डमाथि पाँच विकेटको ऐतिहासिक जित हात पारेको थियो। त्यसअघि नेपालले स्कटल्यान्डलाई कहिल्यै पराजित गरेको थिएन।

यो जितले लिग–२ मा नेपालको अंक २२ भएको छ। छैटौँ स्थानको नेपाल र पाँचौँ स्थानको संयुक्त अरब इमिरेट्स यूएई बीचको दूरी अब तीन अंकमा झरेको छ। यी दुवै टिमले लिग–२ का ३६ मध्ये २६–२६ खेल खेलिसकेका छन्। एकदिवसीय मान्यता जोगाउन शीर्ष पाँचमा पर्ने लक्ष्यलाई सफल पार्न नेपालले अब सात खेल जित्नु पर्नेछ।

स्कटल्यान्ड भने ३४ खेलबाट ४८ अंक बटुलेर शीर्षस्थानमा छ। सबै खेल खेलिसकेको ओमान ४४ अंकसहित तेस्रो र ३२ खेलबाट ३७ अंक जम्मा गरेको नामिबिया तेस्रो स्थानमा छन्। सात टिमसम्मिलित लिग–२ मा स्कटल्यान्डलाई बाँकी टिमले भेट्ने सम्भावना छैन।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले माइकल लिस्कले बनाएको शतकको सहयोगले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।

आक्रामक ब्याटिङ गरेको लिस्कले ८५ बल सामना गरेर अविजित १०७ रन जोडेका थिए। स्कटल्यान्डका लागि लिस्कले एकदिवसीय खेलमा पहिलो पटक शतक बनाएका हुन्। २४ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ११० रन बनाएको स्कटल्यान्डलाई लिस्कले विशाल योगफलतिर डोर्‍याएका थिए।

यो शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई १० विकेटले पन्छाएको स्कटल्यान्डले घरेलु टिमविरुद्ध मध्यम सुरुवात गरेको थियो। ओपनरद्वय क्रिस्टोफर म्याकब्राइड र कप्तान रिची बेरिङटनले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए।

कुशल मल्लको बलमा आउट भएका म्याकब्राइड र बेरिङटनले क्रमशः २२ र १९ रन जोडेका थिए। यी दुईलाई नामिबियाविरुद्ध ओपनिङ गरेका कायल कोेइटजर र जर्ज मुन्सेको स्थानमा मौका दिइएकाे थियाे।
पाहुना टिमका लागि ज्याक जार्भिसले २६, मार्क वाटले २०, ब्रान्डन म्याकमुलनले २२, टोमस म्याकिनटोसले १९, क्रिस ग्रिभ्सले १६ रनको योगदान गरे।

नेपालका लागि सन्दीप लामिछानेले किफायती बलिङ गरेका थिए। २७ रन खर्चिएका पूर्वकप्तान सन्दीपले तीन विकेट हात पारे। नामिबियामाथिको जितमा पनि उनले तीनै विकेट लिएका थिए। नेपालका लागि विकेट लिने अन्य खेलाडीमा कुशल मल्ल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी रहे। मल्लको नाममा दुई विकेट रह्यो भने बाँकीले एक–एक विकेट हात पारे।

नामिबियालाई हराएपछि जोसिएको नेपालले तेस्रो ओभरभित्रै दुई विकेट गुमाउन पुगेको थियो। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले दोस्रो ओभरको समाप्तिमा ३१ रन बटुलेका थिए। पहिलो ओभरमा चार चौका प्रहार गरेका कुशल र दोस्रो ओभरमा दुई चौका हिर्काएका अशिफ शेख अन्ततः तेस्रो ओभरमा आउट भए। यी दुवै ओपनरलाई क्रिस सोलले क्रमशः म्याथ्यु क्रस र क्रिस ग्रिभ्समार्फत क्याच आउट गरेका थिए।

त्यसपछि आएका ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेलले इनिङ्स सम्हाल्न सकेनन्। पूर्वकप्तान ज्ञानेन्द्र जम्मा चार रनमा सीमित भए। कुशलको विकेट लिँदा जस्तै ज्ञानेन्द्रलाई पनि सोलको बलमा क्रसले क्याच आउट गरेका थिए। पूर्वकप्तान जस्तै वर्तमान कप्तानले पनि खराब ब्याटिङ गरे। नामिबियामाथिका जितमा ७२ रन बनाएका रोहित यसपल्ट ६ रनमा बनाएर बाहिरिए।

मध्यक्रमका किशोर ब्याट्सम्यान कुशल मल्लले आक्रामक ब्याटिङ गरेपछि भने नेपाली इनिङ्स सम्हालिएको थियो। कुशलले ६७ बल सामना गर्दा चार छक्का र नौ चौकासहित ८१ रन बटुले। कुशलले दीपेन्द्र सिंह ऐरीसँग १ सय रनको साझेदारी गरेपछि जितको आशा बढेको थियो। कुशल आउट बाहिरिँदा १७७/६ को स्थितिमा रहेको नेपाललाई दीपेन्द्रले अघि बढाएका थिए। दीपेन्द्र जस्तै अविजित रहेका सोमपाल कामीले ३२ बलमा २४ रन जोडे। उनले अन्तिम ओभरमा दुई चौका प्रहार गरेका थिए।

प्रकाशित: ५ फागुन २०७९ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =