सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्र बनाउँछौ : प्रधानमन्त्री

हिमाल प्रेस ५ फागुन २०७९ १३:५६
8
SHARES
सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्र बनाउँछौ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको संकल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरे।

‘अस्पताललाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन, अनुसन्धानको कार्यलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैन’, उनले भने, ‘यसै यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरेको छ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका कामलाई अगाडि बढाउन निर्देशन दिए।

प्रधानमन्त्री प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवाका लागि विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न, देशमा आवश्यक जनशक्ति उत्पादन गर्न, अनुसन्धान तथा चिकित्सा शिक्षाको विकासमा गरिरहेको प्रयास र पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए।

वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐन तर्जुमा गरी स्वास्थ्य सेवालाई निस्शुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। त्यसका लागि सरकारका तर्फबाट आवश्यक गृहकार्य र पहल भइरहेको उनले जानकारी दिए।

प्रकाशित: ५ फागुन २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =