मुगुमा ९ वर्षसम्म पनि बनेन कारागार भवन

हिमाल प्रेस ४ फागुन २०७९ ११:३१
10
SHARES
मुगुमा ९ वर्षसम्म पनि बनेन कारागार भवन

मुगु- मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरू जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ।

सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन ९ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझै पूरा हुन सकेको छैन। २०७१ मा ३ करोड ५० लाख रूपैयाँमा भवन निर्माणको काम थालिएको हो। भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको हो।

भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोष्टलगायत काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन। ८० पुरुष र २० महिला अट्ने क्षमताको उक्त कारागार भवन बने कैदीबन्दीलाई अरू जिल्ला लैजाने अवस्थाको अन्त्य हुनेछ।

पुरानो कारागार भवन प्रयोगविहीन भएपछि २ वर्षअघि त्यसलाई कोरोना सङ्क्रमित राख्न प्रयोग गरिएको थियो। कारागार नै निर्माण नभएपछि कैदीबन्दीलाई मुगुबाट जुम्ला, बर्दिया, सुर्खेत, कालीकोट, बाँके र दाङ लैजानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुद्दाको फैसला नहुँदासम्म कैदीबन्दीलाई प्रहरीको हिरासतमा राख्ने गरिए पनि फैसलापछि अरू जिल्लामा पठाउनुपर्ने बाध्यता छ। कैदीबन्दीलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि उत्तिकै सास्ती हुने गरेको छ।

कैदीबन्दी अरू जिल्ला लगेर राख्दा आफन्तलाई भेट्न समस्या हुने गरेको छ। छायानाथ रारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले छोरो जुम्ला कारागारमा रहेकाले ९ वर्षदेखि भेट्न नपाएको बताए।

कैदीबन्दी अन्य जिल्ला पुर्‍याउँदा कम्तीमा ५० हजार रूपैयाँसम्म खर्च हुने गरेको प्रहरीले जनाएको छ। मुगुबाट बर्सेनि झण्डै २० कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनुपर्छ। आव २०७६/७७ मा २१, आव २०७७/७८ मा १२ र आव २०७८/७९ मा १९ कैदीबन्दीलाई जिल्लाबाहिर पठाइएको थियो।

प्रकाशित: ४ फागुन २०७९ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =