शिक्षाको सबै अधिकार नपाउँदा काम गर्न सकेनौँ : बागमती मुख्यमन्त्री

हिमाल प्रेस ३ फागुन २०७९ १३:२७
54
SHARES
शिक्षाको सबै अधिकार नपाउँदा काम गर्न सकेनौँ : बागमती मुख्यमन्त्री

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारलाई शिक्षा अधिकार कम भएकाले परिणाम देखिने गरी काम गर्न नपाएको गुनासो गरेका छन्।

ज्ञानोदय माध्यमिक विद्यालय बाफलले बुधबार आयोजना गरेको बिदाइ, सम्मान तथा आईसीटी ल्याब उद्घाटन समारोहमा बोल्दै उनले प्रदेश सरकारलाई शिक्षाको अधिकार कम भएको बताएका हुन्।

‘तीन तहको शिक्षाको अधिकार बाँडफाट हुन सकेको छैन। प्रदेश सरकारले शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न सकिरहेको अवस्था छैन,’ उनले भने, ‘संघीय शिक्षा ऐन जारी भएको छैन। प्रदेशलाई पनि शिक्षाको अधिकार कम दिइएको छ। यसले परिणाम देखिने गरी काम गर्न समस्या छ।’

प्रदेश सरकारले आफ्नो माटो सुहाउँदो जीवनोपयोगी शिक्षालाई प्रदेशभित्र लागू गर्न जोड दिनुपर्ने उनको भनाइ छ।

मुख्यमन्त्री जम्कट्टेलले शिक्षा व्यवहारमा लागू हुन नसकेको भन्दै व्यावहारिक शिक्षामा सरकारले जोड दिने बताए । उनले भने, ‘पढिसकेपछि के गर्ने? सरकारी सेवामा जान पनि कोटा सीमित भएकाले समस्या छ। बेरोजगारी समस्या सिर्जना भएको अवस्था छ।’ उनले बागमती प्रदेश सरकारले कृषि शिक्षामा जोड दिँदै दक्ष कृषक बनाउन कृषि शिक्षामा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले व्यावहारिक शिक्षामा जोड दिँदै शिक्षाको गुणस्तरमा सुधार गर्न सकिने बताए।

कार्यक्रममा सहभागी काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोल, सामाजिक अभियन्ता सुमन सायमी, शिक्षाविद् धनञ्जय शर्मालगायतले विद्यालयमा आईसीटी ल्याबको प्रयोगले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित: ३ फागुन २०७९ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =