सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ?

हिमाल प्रेस २ फागुन २०७९ १६:४५
8
SHARES
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ?

काठमाडौँ– आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले रु. ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ।

यस अवधिमा वैदेशिक अनुदान ८ अर्ब १२ करोड बराबर छ। सरकारले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक तथा बाह्य ऋण र वैदेशिक अनुदान लिने गरेको छ।

चालु तथा आगामी आवका लागि विकास सहायता परिचालन गर्ने गरी विभिन्न विकास साझेदारसँग छलफल तथा वार्ता भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।

एक दर्जनभन्दा बढी विकास साझेदारसँग ऋण र अनुदानका लागि पहल भइरहेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार सरकारले काँकडभिट्टा–लौहकी सडक खण्ड कार्यान्वयनका लागि एसियाली विकास बैंक (एडीबी) बाट अमेरिकी डलर ३० करोड (३९ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिन पहल गरिरहेको छ। एडीबीसँग वार्ता भइसकेको अर्थ मन्त्रालयले जनाएको छ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट अमेरिकी डलर १० करोड (१३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिने सरकारको तयारी छ। ऋण प्राप्त गर्न विश्व बैंकसँग वार्ताको चरणमा रहेको सरकारको भनाइ छ।

विश्व बैंकबाटै गुणस्तरीय स्वास्थ्य प्रणाली आयोजनाका लागि अमेरिकी डलर १० करोड (१३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिन लागिएको छ। ऋण सहायता प्राप्त गर्न आयोजना दस्तावेज तयार भइसकेको छ।

वित्तीय क्षेत्र पुनर्संरचना (फिस्कल डीपीसी–२) कार्यक्रमअन्तर्गत विश्व बैंकबाट अमेरिकी डलर १० करोड (१३ अर्ब रुपैयाँ) बराबरको बजेटरी सहायताका लागि सहुलियतपूर्ण ऋण लिन लागिएको पनि अर्थ मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छ।

‘फाइनान्स फर ग्रोथ’ कार्यक्रमअन्तर्गत् विश्व बैंकबाटै अमेरिकी डलर १० करोड बराबरको बजेटरी सहायता लिने तयारी भइरहेको छ। ६३५ मेगावाट विद्युत् उत्पादन क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकले प्रारम्भिक सहमति जनाइसकेको छ।

‘यो आयोजना कार्यान्वनयका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर ५८ करोड (करिब ७५ अर्ब ४० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने आशय प्राप्त भएको छ। आयोजनामा अन्य दातृ निकायबाट पनि लगानी जुटाउन समन्वय भइरहेको छ,’ बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर ८ करोड ८ लाख (करिब १ अर्ब १९ करोड रुपैयाँ) ऋण लिन लागिएको छ।

त्यसैगरी १०६१ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजना कार्यान्वयनका लागि विश्व बैंकबाट अमेरिकी डलर ५० करोड (करिब ६५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता जुटाउन गृहकार्य भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। यो आयोजनामा बाँकी रकम जुटाउन अन्य सम्भाव्य लगानीकर्तासँग समन्वय भइरहेको पनि अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।

भन्सार पुनर्संरचना कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर पाँच करोड (करिब ६ अर्ब ५० करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने क्रममा छ।

सार्वजनिक वित्तीय व्यवस्थापन तथा सेवा प्रवाह सुधार कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट ऋण लिने तयारी छ। यो कार्यक्रमका लागि अमेरिकी डलर १० करोड बराबरको सहुलियतपूर्ण ऋण प्राप्त हुनेछ।

स्थानीय पूर्वाधार सहायता कार्यक्रम कार्यान्वयनका लागि बेलायत सरकारबाट अनुदान सहायताका रूपमा पाउन्ड स्टर्लिङ ९ करोड (करिब १४ अर्ब ४० करोड रुपैयाँ) बराबर प्राप्त गर्न समझदारीपत्रको मस्यौदामा छलफल भइरहेको छ।

त्यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर ८ करोड ८ लाख (करिब १ अर्ब १९ करोड रुपैयाँ) ऋण लिन लागिएको छ।
यस अतिरिक्त लगानीबापत सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा द्विपक्षीय वार्ताको चरणमा रहेको अर्थ मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छ।

ऋण मात्र नभई विदेशी सहायता लिन पनि केही विकास साझेदार र दातृ निकायसँग सरकारले छलफल गरिरहेको छ। ‘विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलगायतका लागि युरोपियन युनियनबाट बजेट सहायताका रूपमा ४ करोड युरो अनुदान प्राप्त गर्न सम्बन्धित मन्त्रालयबाट राय, प्रतिक्रिया प्राप्त भएको र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राय प्रतिक्रिया प्राप्त हुने चरणमा रहेको छ,’ बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ।

कृषि तथा ग्रामीण विकासका लागि योगदान (कार्ड) मार्फत युरोपियन युनियनबाट १ करोड ५६ लाख रुपैयाँ अनुदानको छलफल अन्तिम चरणमा पुगेको छ। यो अनुदान सहायता प्राप्त हुने प्रक्रियामा रहेको अर्थ मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =