तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

हिमाल प्रेस २ फागुन २०७९ १५:३४
18
SHARES
तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

काठमाडौँ– तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माणको काम सकिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सराङघाट सबस्टेसन निर्माण गरिएको हो। उक्त सबस्टेसन सामाजिक विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइन ट्यापिङ गरिएको छ। प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने १९ किलोमिटर लामो ३३ केभी लाइन निर्माणको काम पनि सकिएको प्राधिकरणले जानकारी दिएको छ। त्यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइन भूमिगत गरिएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन शुक्रबार र सबस्टेस सोमबार चार्ज गरिएको छ।
तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्ति पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको प्राधिकरणले बताएको छ। आयोजना अन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै सञ्चालनमा आइसकेको छ।

सराङघाट सबस्टेसनमा ६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। स्थानीय रूपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ। सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति हुनेछ। यसबाट त्यसक्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाउने प्राधिकरणको दाबी छ। दुईवटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्टइन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मंसिरमा ठेक्का सम्झौता भएको थियो।

ग्रामीण विद्युतीकरण अन्तर्गतका सबै काम चालू आर्थिक वर्षभित्रै सक्ने लक्ष्य प्राधिकरणले राखेको छ। नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो।

प्रकाशित: २ फागुन २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =