एकै महिनामा ४२ देशका पर्यटकको आगमन

हिमाल प्रेस २ फागुन २०७९ १४:०२
4
SHARES
एकै महिनामा ४२ देशका पर्यटकको आगमन

मनाङ- हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ। हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन। सन् २०२३ को सुरुवातमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन्। जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्क रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।

उनका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्क छ। ‘विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ तर यसवर्ष हिँउ परेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, हिउँ नपरे पनि झन विदेशी पर्यटक बढेका छन्’ उनले भने।

नयाँ वर्षको योजना बनाएर कोरियाका पर्यटक मनाङ भ्रमणमा आएका थिए। उनीहरूले यहाँको भन्दा बढी चिसोमा बसिरहेका हुनाले हिउँदमा त्यहाँका पर्यटक बढी आउने गरेको उनको भनाइ छ। हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायत विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएका थिए।

त्यस्तै फ्रान्सका ३६, अष्ट्रेलियाका ३४, बेलायतका २१, जर्मनका २१, अमेरिकाका १५, बेल्जियमका १३, भारतका १२ र नेदरल्याण्ड्सका १० पर्यटक भित्रिएका र अन्य देशबाट भने अलिकम पर्यटक भित्रिएको प्रमुख गौतमको भनाइ थियो।

‘चिसोका कारण प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई मात्र तिलिचो ताल र थोराङ्ला भएर जान अनुमति दिएका छौँ। हिउँ नपर्दा सुख्खापन बढेको छ। यसले कृषि बालीसमेत समस्या हुने देखिएको छ,’ उनले भने, ‘यसवर्ष मनाङमा हिमपात हुने स्थिति देखिएको छैन।’

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले पनि यसवर्ष हिउँ नपरेकोले चहलपहल बाक्लो भइरहेको बताइन्। यात्राको जोखिम हेरेर पर्यटकले सम्बन्धित निकायसँग सहकार्य र समन्वयमा यात्रा गर्न सुझावसहित पदयात्रामा जान दिइएको उनको भनाइ थियो।

यस वर्ष हिमपात नहुँदा मनाङमा हिउँ खेल्ने आन्तरिक पर्यटक भने भित्रिन सकेका छैनन्। हिमपात भएको अवस्थामा भने आन्तरिक पर्यटक हिउँ खेल्न र हिउँ छुनकै लागि मनाङ आउने गर्दथे। पर्यटकले हिमाली तथा पहाडी दृश्य, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सौन्दर्य हेर्नाका साथै मनाङबाट थोराङ्ला हुँदै मुस्ताङ वा पोखरा जान अन्नपूर्ण पदमार्ग प्रयोग गर्छन्।

उक्त पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ। पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ। रासस

प्रकाशित: २ फागुन २०७९ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =