भरतपुर अस्पतालमा सेवा विस्तार

हिमाल प्रेस २ फागुन २०७९ १२:१७
8
SHARES
भरतपुर अस्पतालमा सेवा विस्तार

चितवन- भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ। पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो।

एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो। अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरंग सेवा लिन आउने जनाइएको छ।

६ सय शय्याको यो अस्पताल संघीय अस्पताल हो। चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन्। आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन्।

अस्पतालमा बीमा सुरु भएयता एक अर्बभन्दा बढी रकम अस्पतालले बीमाबापत पाइसकेको छ। बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउँछन्।

अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उनको दाबी छ।

पछिल्लो समय अस्पतालमा बहिरंग सेवा (ओपीडी)को टिकट बिहान ७:३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ। विशेषज्ञ ओपिडी बिहान ९:३० देखि २:३० बजेसम्म सञ्चालन हुँदै आएको छ।

नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिर‌ंग सेवा (जीओपीडी) सेवा सुरु गरिएको छ। बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको छ।

बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ।

शल्यक्रिया कक्ष (अपरेसन थिएटर)को संख्या ६ वटाबाट बढाएर सात बनाइएको छ। तीमध्ये दुईवटा अस्पताल विकास समितिको बजेटबाट ‘मोडुलर’ शल्यक्रिया कक्ष बनाइएको हो। यो पनि अस्पताललाई अहिले अपुग छ।

प्रकाशित: २ फागुन २०७९ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =