दुई महिनामा पार्टी रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २९ माघ २०७९ १७:२९
2
SHARE
दुई महिनामा पार्टी रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले विश्वासको मत पाएपछिको परिस्थिति फेरिएको भन्दै राष्ट्रिय एकताको निम्ति पहल जारी राख्ने बताएका छन्। आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीका बागमती प्रदेशका केन्द्रीय सदस्यहरू सम्मिलित बागमती प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ। विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो,’ उनले भने, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ। हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु।’

उनले आफूले सरकारको नेतृत्व गरिरहेको र यो पार्टीकै लागि पनि चुनौतीपूर्ण अवसर भएको बताए। आफू नेतृत्वको सरकारले राम्रो काम गरे पार्टी पुन:निर्माणको आधार तय हुने प्रचण्डको विश्वास छ।

उनले भने, ‘अहिले हामीले सरकारको नेतृत्व गरिरहेका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ। सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला।’

प्रचण्डले दुई महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन्।  ‘पार्टीको स्थायी समिति बैठकले दुई महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। दुई महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं ‘ उनले भने।

प्रकाशित: २९ माघ २०७९ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =