पोखरा आगलागी : सेलवेज सुपरमार्केटसहित आधा दर्जन पसलमा क्षति

हिमाल प्रेस २८ माघ २०७९ २०:५८
8
SHARES
पोखरा आगलागी : सेलवेज सुपरमार्केटसहित आधा दर्जन पसलमा क्षति आगलागीपछि पसलहरूबाट सामान निकाल्ने प्रयास गर्दै स्थानीय। तस्बिर- विजय उत्सव/हिमाल प्रेस

पोखरा– पोखराको लेकसाइड सेन्टरमा शनिबार आगलागी हुँदा सेलवेज सुपरमार्केटसहित झण्डै आधा दर्जन पसलमा क्षति पुगेको छ। सेलवेजको डिपोर्टमेन्ट स्टोर्सको गोदामबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, बारुणयन्त्र र स्थानीयवासीको प्रयासमा २ घण्टापछि नियन्त्रणमा आएको छ।

हल्लनचोकस्थित लेकसाइड सेन्टर भवनमा सेलवेज डिपार्टमेन्टल स्टोर्ससहित नबिल बैंकको शाखा, बैंकका एटीएम लाउन्ज, हिमालयन जाभा कफी, ट्रेकिङ सप, रेस्टुरेन्टलगायत पसल सञ्चालित छन्।

आगलागीमा पर्यटन व्यवसायी अग्नि कँडेलको ट्रकिङ सप, दोर्जे लामाको दोर्जे रेष्टुरेन्ट, एक र्‍याफ्टिङ पसल, हिमालय बबल सप पनि जलेका छन्। आगो लाग्न थालेपछि स्थानीयको सहयोगमा कतिपय पसलका सामानहरू बाहिर ल्याइएको थियो। बैंक, एटीएमलगायत अन्य व्यापारिक संस्थाको सम्भावित ठूलो क्षति भने टरेको छ।

आगो नियन्त्रणका लागि पोखरा महानगरपालिका र पोखरा विमानस्थलको बारुणयन्त्र प्रयोग गरिएको थियो। यस्तै ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका थिए। विद्युत सर्टको आशंका गरिए पनि आगलागी के कति कारणले लागेको हो भन्ने खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले आगलागीबाट क्षतिको विवरण संकलन नभइसकेको बताए। उनका अनुसार आइतबार बिहान सम्बन्धित सबै पक्ष बसेर क्षति विवरण संकलन गरिने छ।

स्थानीयका अनुसार आगलागीमा १ करोड रुपैयाँ बढीको क्षति अनुमान गरिएको छ। आगलागीमा सबैभन्दा बढी क्षति डिपोर्टमेन्ट स्टोर र ट्रेकिङ सपमा भएको अनुमान गरिएको छ।

प्रकाशित: २८ माघ २०७९ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =