राप्रपाको विद्यार्थी संगठन गुण्डा उत्पादन गर्ने कारखाना नबनोस् : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २८ माघ २०७९ १७:०२
1.3k
SHARES
राप्रपाको विद्यार्थी संगठन गुण्डा उत्पादन गर्ने कारखाना नबनोस् : राजेन्द्र लिङ्देन फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विद्यार्थी संगठन देशभक्त विद्यार्थी उत्पादन गर्ने ठाउँ बन्न सक्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिले देशको राष्ट्रियतामाथि चौतर्फी प्रहार भइरहेको छ। यसको रक्षाका लागि विद्यार्थीहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ। हाम्रो पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन गर्ने कारखाना नभई देशभक्त उत्पादन गर्ने संगठन बन्नुपर्छ,’ उपप्रधान एवम् ऊर्जामन्त्रीसमेत रहेका उनले भने, ‘पार्टीलाई बलियो बनाउन विद्यार्थीहरूले जिल्ला-जिल्लामा गएर काम गर्नुपर्छ।’

विद्यार्थीहरूले पढेर शैक्षिक प्रमाण पत्र प्राप्त गर्नुमात्र ठूलो कुरा नभएको बताउँदै शिक्षालाई समयसापेक्ष सुधार गर्न विद्यार्थीहरूले नै पहल गर्नेुपर्ने उनले उल्लेख गरे।

अध्यक्ष लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताए। उनले भने, ‘आज चौतर्फी रूपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन्।’

उनले विद्यार्थीलाई यसप्रति खबरदारी गर्न आग्रह गरे। यसैगरी उनले विद्यार्थी संगठनलाई सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न निर्देशन दिए। काठमाडौँ केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने उनको भनाइ छ।

भेलामा सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विद्यार्थीको पहिलो धर्म पढ्ने र लेख्ने भएकाले त्यसलाई नबिर्सन आग्रह गरे।

उनले भने, ‘प्राध्यापकलाई कालोमोसो दलेको, तालाबन्दी गरेको, तोडफोड गरेको यी कानले कहिल्यै सुन्नुनपरोस्। विद्यार्थीको पहिलो धर्म पढ्ने–पढ्ने, लेख्ने, लेख्ने, लेख्ने हो। त्यो कहिल्यै नबिर्सिनोस्।’

मिश्रले इमानदारीबिनाको पढाइ/लेखाइ समाजका लागि झन घातक हुन सक्ने भएकाले जीवनमा सधैँ नाक ठाडो राखेर बोल्न सक्ने बन्न आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =