अमेरिकी आकाशबाट खसालियो कार जत्रै शंकास्पद वस्तु

हिमाल प्रेस २८ माघ २०७९ ११:२०
10
SHARES
अमेरिकी आकाशबाट खसालियो कार जत्रै शंकास्पद वस्तु खसालिएको शंकास्पद वस्तुबारे जानकारी दिँदै अमेरिकी सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बी

काठमाडौँ- अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एक शंकास्पद वस्तुलाई युद्धक विमानको प्रयोग गरी खसालेको छ। राष्ट्रपति जो बाइडनको निर्देशन अनुसार सो वस्तुलाई शुक्रबार अलास्काको उत्तरी समुद्री तटमा खसालिएको ह्वाइटहाउसले जनाएको छ। यसरी खसालिएको वस्तुको कार जत्रै भएको बताइएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार शंकास्पद वस्तु ४० हजार फिट माथि उडिरहेको थियो। यसले आफ्नो देशको हवाइ सुरक्षामा असर पुर्‍याउने भएकाले अमेरिकी वायु सेनाको एफ–२२ युद्धक विमानको प्रयोग गरी खसालिएको बताए। यात्रुवाहक हवाइजहाज ४५ हजार फिटको उचाइमा उड्ने गर्छन्।

गत साता मात्र अमेरिकाले चिनियाँ ‘जासुस’ बलुन क्यारोलिनामा खसालेका थियो। यसपालि खसालिएको वस्तुमाथि भने जासुसीको शंका गरिहालिएको छैन। यो वस्तु जासुसी गर्नैका लागि अमेरिकी आकाशमा आइपुगेको हो वा होइन, अहिल्यै केही भन्न नसकिने ह्वाइटहाउसले जनाएको छ।

‘यो वस्तु खासमा के हो, यसपभित्र के छ, कसले उडाएको हो भन्नेबारे अहिले केही जानकारी छैन,’ किर्बीले भने।

किर्बीले शुक्रबार खसालिएको वस्तु यसअघि खसालिएको बलुनको दाँजोमा सानो रहेको जनाएका छन्। यसरी लगातार अमेरिकी आकाशबाट बलुन र शंकास्पद वस्तु खसाल्नु परेपछि अमेरिकी नागरिकले राष्ट्रपति बाइडनलाई चीनप्रति कडा रुपमा प्रस्तुत हुन दबाब परिरहेको एपीको रिपोर्टमा उल्लेख छ।

यो शंकास्पद वस्तु खसालिएको एक दिनपछि पनि अमेरिकी जासुस संयन्त्र र पाइलटहरूले केही जानकारी दिन नसकेपछि ह्वाइटहाउस र रक्षामन्त्रालय पेन्टागनभित्र अन्योल छाएको रोयटर्सले दाबी गरेको छ।

पेन्टागनका अनुसार यो वस्तुलाई गत बिहीबार देखा परेको थियो। राडरमा एक्कासी देखा परेपछि सेनाको एफ–३५ युद्धक विमान अनुसन्धानका लागि पठाइएको थियो। हवाइ उडानमै असर पार्ने देखिएपछि राष्ट्रपति बाइडनबाट आदेश लिएर खसालिएको पेन्टागनको भनाइ छ।

युद्धक विमानले यसलाई क्यानडासँग सीमाना जोडिएको तटीय क्षेत्रमा खसालेको थियो। भग्नावशेष बटुल्न सजिलो हुने भएकाले त्यसलाई बरफ जमेको क्षेत्रमा खसालिएको बताइएको छ।

पेन्टागनका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरका अनुसार त्यस वस्तुलाई खसाल्नुअघि त्यहाँ कोही मानिस रहेका् वा नरहेकोबारे जाँच गरिएको थियो। आफैँ उडिरहेको भेटिएपछि बल प्रयोग गरेर खसालिएको थियो। ‘यो कुनै प्रकारको विमान चाहिँ होइन। अहिलेलाई यत्ति भन्न सकिन्छ,’ राइडले भने।

प्रकाशित: २८ माघ २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =