भारतीय परराष्ट्र सचिव क्वात्रा नेपाल आउँदै

हिमाल प्रेस २७ माघ २०७९ १५:२८
8
SHARES
भारतीय परराष्ट्र सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौँ– भारतका परराष्ट्र सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन्। उनी दुई मुलुकका सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आउन लागेका हुन्। क्वात्रा नेपालमा राजदूत भएका बेला भारतको परराष्ट्र सचिव नियुक्त भएका थिए। उनी फागुन १ गते नेपाल आउने कार्यक्रम छ।

नेपालको राजनीतिक तरलता बढ्दै गएको बेला उनको भ्रमण हुन लागेको हो।  परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेका परराष्ट्र सचिव क्वात्रा तीन दिन नेपालमा रहने भारतीय परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। क्वात्रा परराष्ट्र सचिव भएपछि पहिलोपटक नेपाल आउन लागेका हुन्।

नेपालका राजनीतिक दलहरू राष्ट्रपतिको निर्वाचनका प्रक्रियामा छलफल गरिरहेको समयमा संयन्त्र बैठक गर्ने भन्दै नेपाल आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ। क्वात्रा नेपाल बुझेका भारतीय कूटनीतिज्ञ मानिन्छन्। दुई दशकअघि उनी नेपालमा मुख्यालय रहेको दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कको निर्देशक थिए। पछि फ्रान्समा राजदूत भएका उनी त्यसपछि नेपालका लागि भारतीय राजदूत भएका थिए।

क्वात्रा नेपालमा शेरबहादुर देउवानिकट कूटनीतिज्ञका रूपमा चिनिन्छन्। क्वात्रा र कांग्रेस सभापति शेरबहादुर देउवाबीच निकट सम्बन्ध छ। यस्तो अवस्थामा नेपाल आएर उनले देउवाको हितका लागि सहयोग गर्ने कतिपयको आकलन छ। देउवालाई प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  राष्ट्रपति बनाउन चाहेका छन्।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण हुन लागेको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा सचिवद्वय क्वात्रा र पौड्यालबीच भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने पनि बताइएको छ। भारतको सहयोगमा सम्पन्न विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य बलियो बन्दै गएको छ।

यो भ्रमणले नेपाल-भारतबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने भारतीय पक्षको बुझाइ छ। उनी नेपाल आउँदा राजनीतिक दलका नेतासँग पनि भेटवार्ता गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =